बीमा कम्पनीभन्दा सानो पुनर्बीमा कम्पनीमा जोखिम राख्न बीमा कम्पनी बाध्य, हिमालयन रिमा पुनर्बीमा गर्नु जोखिमयुक्त

२४ श्रावण २०७९, मंगलवार ०९:३६

काठमाडौं । बीमा समितिको गलत निर्णयका कारण नेपालका बीमा कम्पनीले आफूभन्दा सानो आकारको पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन बाध्य भएका छन् । बीमा समितिले नेपालका सबै बीमा कम्पनीले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई निश्चित प्रतिशत हिस्सा दिनुपर्ने भन्ने गैर कानुनी निर्देशनका कारण बीमा कम्पनीका लागि गम्भिर नैतिक प्रश्नमा उभिन बाध्य पर्ने अवस्था सिर्जना भएको हो ।

बीमा समितिले जेठ ५ गतेको निर्देशन अनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई कूल बीमाको १० प्रतिशत प्रत्यक्ष हिस्सा दिनुपर्ने व्यवस्थाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गम्भिर नैतिक संकटमा परेको छ । बीमा समितिको निर्देशन मान्दा आफूभन्दा सानो कम्पनीलाई पुनर्बीमा गराउनुपर्ने र बीमाको सामान्य सिद्धान्त नमानौं भने नियामक निकायले कारवाही गर्ने अवस्था सिर्जना भएको छ । बीमा समितिले अनिवार्य भनेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको चुक्ता पुँजि सात अर्ब रुपैयाँ छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजि आठ अर्ब २० करोड रुपैयाँ छ ।

बीमा समितिले गत जेठ ५ गते जारी निर्देशन अनुसार कूल बीमाको प्रत्यक्ष हिस्सा १० प्रतिशत अनिवार्य रुपमा हिमालयन रिइन्स्योरेन्समा गर्नैपर्दछ । तर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफूभन्दा सानो मात्रै नभई आफ्नो भन्दा कम चुक्ता पुँजि भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराउन बाध्य पारिएको छ । यसले बीमा कम्पनीलाई बीमाको सिद्धान्त गर्न नपाइने कामका लागि बाध्य पारिएको छ ।

 

 

बीमाको सिद्धान्त अनुसार राज्य नियन्त्रित कम्पनीमा कूल बीमा हिस्साको केही प्रतिशत आरक्षण गर्ने बाहेक अन्य अवस्थामा पुनर्बीमा यही कम्पनीमा गर्नुपर्दछ भन्न पाइदैन । तर, बीमा समितिले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई कूल बीमाको १० प्रतिशत हिस्सा दिनैपर्ने भन्ने निर्णयले बीमा जगत अनैतिक कामका लागि बाध्य भइरहेका छन् । नेपाल लाइफ मात्रै नभई मर्जर भई बन्न लागेको युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ पनि मर्जरपछि चुक्ता पुँजि हिमालयन रिको भन्दा बढि हुनेछ । बीमा कम्पनीहरुको आकार ठूलो हुँदै गएको र पुनर्बीमा कम्पनी सानो आकारको भएकोले नेपाली पुनर्बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनी खोज्न बाध्य हुनुपर्ने अवस्था छ ।

कम चुक्ता पुँजिका कारण हिमालयन रिइन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराउनु जोखिमपूर्ण रहेको आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक निर्जीवन बीमा कम्पनीका सिईओले बीमापोष्टलाई बताए । अर्का एक जीवन बीमा कम्पनीका सिईओ त बीमा समितिले नै अनैतिक कामका लागि बाध्य पारिएको गुनासो गरेका छन् । पुनर्बीमाको सिद्धान्त अनुसार जोखिम विविधिकरण गरेर भुगोल, पोर्टफोलियो सबै मिलाएर पुनर्बीमा गर्नुपर्ने हुन्छ । तर, बीमा समितिले नेपालमै गर्नुपर्ने भन्ने व्यहोराको निर्देशनले अप्ठेरो पारेको बताउँछन् ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको चुक्ता पुँजि थोरै भएको र कोष समेत नभएकोले उक्त कम्पनीमा पुनर्बीमा व्यवसाय दिनु जोखिमपूर्ण रहेकोले बीमा समितिको निर्णय मान्ने भन्दा पनि कम्पनी जोगाउने अभियानमा बीमा कम्पनीका सिइओ र कर्मचारीहरु सचेत हुनुपर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*