एक खर्ब ३६ अर्ब रुपैयाँको विशाल जीवन बीमा कोष खडा गरेर अघि बढ्दै नेपाल लाइफ, बीमा व्यवसाय ९ प्रतिशतले बृद्धि

२७ श्रावण २०७९, शुक्रबार ०६:२६

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ एक खर्ब ३६ अर्ब ७९ करोड ६३ हजार २०१ रुपैयाँको विशाल कोष खडा गर्दै अघि बढेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको बार्षिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २१.५८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । जीवन बीमा कम्पनीका लागि जीवन बीमा कोष नै सबैभन्दा महत्वपूर्ण हुन्छ । कम्पनीको महाविपत्ति कोष र जगेडा कोषसहितको आकार एक खर्ब ३७ अर्ब ७९ करोड ९२ लाख ८४ हजार ९८९ रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको तुलनामा कम्पनीको जीवन बीमा व्यवसाय ९ प्रतिशतले थप विस्तार भएको छ । समीक्षा अवधीमा नेपाल लाइफले ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार १४४ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले अघिल्लो आवमा ३१ अर्ब ६९ करोड ९३ लाख ८९ हजार ४३१ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो । देशमा फैलदो आर्थिक संकटका बीचमा देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको व्यवसाय विस्तार ९ प्रतिशत फराकिलो हुनुलाई कम्पनीले कडा मेहनतका बीचमा सफलता हासिल गरेको तथ्याङ्कले देखाएको छ ।

कम्पनीको खुद दावी भुक्तानी ६१.३५ प्रतिशतले बृद्धि भई आठ अर्व ७८ करोडबाट १४ अर्ब १६ करोड ७० लाख ३८ हजार ७४३ रुपैयाँ पुगेको छ । खुद दावी भुक्तानीभित्र म्याचुरिटी भुक्तानी तथा सरेन्डर दुवै पर्दछन् ।

कम्पनीको लगानी तथा कर्जा लगानी, बीमालेख धितोमा लगानी र अन्य प्रत्यक्ष आयमा १८ प्रतिशतले बृद्धि हासिल गरेको छ । बैंकहरुको बढ्दो ब्याजदरका कारण नेपाल लाइफको लगानी बृद्धि भएको हो । शेयर लगानी कम रहेका कारण पनि लगानी बृद्धि राम्रो देखिएको छ । अघिल्लो आवमा १० अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा १२ अर्ब ५० करोड ५९ लाख १८ हजार एक रुपैयाँ लगानीबाट आम्दानी गर्न सफल भएको छ ।

कम्पनीले ९ प्रतिशत व्यवसाय विस्तार हासिल गर्दा पनि खर्च कटौति तीव्र बनाएर उत्कृष्ट व्यवस्थापन कुशलता प्रदर्शन गरेको छ । समीक्षा अवधीमा कम्पनीको व्यवस्थापन खर्च ०.३० प्रतिशतले घटेको छ । बीमा समिति फ्युचर बोनसका लागि प्रत्येक वर्ष २० प्रतिशत कोषमा राख्नुपर्ने अनिवार्य गरेको अवस्थामा खर्च कटौति गर्न सफल हुनुले नेपाल लाइफको व्यवस्थापनको कुशलता वित्तीय विवरणमा झल्किएको हो । अघिल्लो आवमा दुई अर्ब ४३ करोड ८९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले गत आवमा दुई अर्ब ४३ करोड ५८ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

लगानीबाट प्राप्त आम्दानी उल्लेख्य बृद्धि र खर्च कटौतिमा दृढता देखाएकोले कम्पनीको जीवन बीमा कोषमा २१ प्रतिशतको बृद्धि सम्भव देखिएको आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ ।

नेपाल लाइफले आफ्ना अभिकर्तालाई दिने कमिशनमा १ प्रतिशतले घटेको छ । गत आवमा तीन अर्ब ५५ करोड ६३ लाख रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई वितरण गरेको नेपाल लाइफले गत आवमा तीन अर्ब ५२ करोड ९९ लाख १३ हजार २५६ रुपैयाँ वितरण गरेको छ ।

नेपाल लाइफ यस वर्ष ३५ करोड २७ लाख ३८ हजार १६१ रुपैयाँ घाटामा गएको छ । बीमा समितिले लागू गरेको फ्युचर बोनसका लागि ठूलो रकम प्रोभिजन गर्नु परेका कारण कम्पनीको वित्तिय विवरण घाटामा गएको देखिएको हो । साथै कम्पनीले ७७ कराेड प्राेभिजन गर्नु परेकाे कारण यति घाटा देखिएकाे हाे । अघिल्लाे आवमा १८ कराेड प्राेभिजन गरेकाेमा आव २०७८/०७९ मा ठुलाे मात्रामा प्राेभिजन गर्नु परेकाेले  घाटामा देखिएकाेले कम्पनीका लगानीकर्ताहरुले यस वित्तिय विवरणको आधारमा मुनाफा खान त पाउँदैनन् तर कम्पनीको बलियोपना झनै बलियो बनेको छ भने जीवन बीमा कोष झनै बलियो बनेका कारण कम्पनीको प्रतिशेयर कूल सम्पत्तिको मूल्य १८५६ रुपैयाँ पुगेको छ । हाल कम्पनीको प्रतिशेयर आम्दानी ४.३० ऋणात्मक छ ।

गत आवमा नेपाल लाइफले कूल १३ अर्ब ३२ करोड ७१ लाख नौ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस्तो दावी भुक्तानी नौ अर्ब रुपैयाँ थियो । कम्पनीको भुक्तानी हुन बाँकी रकम पनि घटेको छ । गत आवमा दुई अर्ब ५५ करोड ५१ लाख ९० हजार रुपैयाँ कूल दावी भुक्तानी बक्यौता रहेकामा गत आवमा उल्लेख्य मात्रामा घटेर एक अर्ब ७१ करोड ५२ लाख ६० हजार रुपैयाँ मात्रै बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*