झण्डै पाँच अर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो आइएमई लाइफ, अन्य सूचाङ्कमा देखियो प्रगति

३१ श्रावण २०७९, मंगलवार ०७:३२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीले आफ्नो बीमा ब्ययवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्मका आइएमई लाइफ इन्स्योरेन्सले ४ अर्ब ७१ करोड ३१ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । यस अवधिसम्म आइएमई लाइफले जीवन बीमा कोषको आकार अघिल्लो आवको तुलनामा ५८.५३ प्रतिशतले बढाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्सले २ अर्ब ९७ करोड २९ लाख रुपैयाँ जीवन बीमा कोषमा संचित गरेको थियो ।

कोषको आकारमा बृहत सुधार गर्दै गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस्तो आम्दानी अघिल्लो आवको तुलनामा २६.१८ प्रतिशत बढी हो । बीमा ब्यवसाय विस्तारमा सुधार गर्दै कम्पनीले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको हो । अघिल्लो आवको यस अवधिसम्म आइएमई लाइफले २ अर्ब ७३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी समेत बृद्धि हुन पुगेको छ । अघिल्लो आवमा ३६ करोड ९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस अवधिसम्म ४३.९२ प्रतिशतले बढेर ५१ करोड ९४ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

आम्दानी बढेसँगै कम्पनीको अभिकर्ता कमिशन सो अवधिसम्म ६.३४ प्रतिशत बढेर ५५ करोड १६ लाख रुपैयाँ पुगेको छ । व्यवस्थापन खर्च समेत १२.८५ प्रतिशत बढेर ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

यता कम्पनीको व्यवस्थापन खर्च सामान्य बढेसँगै खुद नाफा प्रभावित बन्न पुगेको छ । अघिल्लो आवको यस अवधिसम्म १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको यस अवधिसम्म १.३४ प्रतिशत घटेर १२ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ । यद्यपी जीवन बीमा कम्पनीहरुको खुद मुनाफा बीमाङ्कनपछि हेरफेर हुन सक्नेछ ।

साथै कम्पनीले अन्य सूचकमा भने उत्साहजनत प्रगति गरेको देखिएको छ । सो अवधिसम्म कम्पनीको जगेडा कोषको आकार ६३ प्रतिशत बढाए र कोषमा ७७ करोड ६८ लाख रुपैयाँ र महाविपत्ती कोषको आकार ६८ प्रतिशत बढाएर ८ करोड ६३ लाख रुपैयाा संचिती गर्न सफल भएको छ ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको आइएमई लाइफको कायम पोलिसी संख्या पनि ४०.१४ प्रतिशत बढेर २ लाख ५३ हजार ५३९ पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ९.१९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६१.६५ रुपैयाँ र प्रतिशेयर सम्पत्तिको मूल्य ४९८.३१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*