नेशनल लाइफको जीवन बीमा कोष आधा खर्बमाथि, दावी भुक्तानी र व्यवस्थापन खर्च बढ्दा बोनस घट्ने चिन्ता

३१ श्रावण २०७९, मंगलवार ०९:३७

काठमाडौं । पहिलो हुने दौडमा अघि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा आधा खर्बभन्दा बढि संचिती गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषको आकार ५१ अर्ब १५ करोड ५३ लाख ३३ हजार १०१ रुपैयाँ पुर्याउन सफल भएको छ । गत आवको अन्त्यसम्मको अघिल्लो समीक्षा अवधीको तुलनामा जीवन बीमा कोषको आकार २०.५८ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले जगेडा कोष खर्च गर्दा २४ प्रतिशतले घटेको आज प्रकाशित वित्तीय विवरणमा झल्किएको छ भने व्यवस्थापन खर्च १०.६६ प्रतिशतले बृद्धि हुँदा बोनस घट्ने चिन्ता आम बीमित र बीमा अभिकर्ताको बीचमा पर्न गएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कोषको आकार ५२ अर्ब १७ करोड १८ लाख ३८ हजार ६२६ रुपैयाँ संचिती गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोष सबैभन्दा महत्वपूर्ण हुन्छ । नेशनल लाइफ जीवन बीमा कोषको आधारमा देशको तेस्रो ठूलो जीवन बीमा कम्पनी हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको अन्त्यसम्ममा १४ अर्ब २८ करोड ३९ लाख ८४ हजार २७ रुपैयाँ खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क १७.८८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको खुद दावी भुक्तानी ह्वात्तै बृद्धि भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद दावी भुक्तानी ४६.५१ प्रतिशतले बृद्धि भई तीन अर्ब ९५ करोडबाट बढेर पाँच अर्ब ७९ करोड ६७ लाख ७२ हजार ५५४ रुपैयाँ पुगेको छ । दावी भुक्तानी बृद्धि हुँदा कम्पनीको जीवन बीमा कोषमा योगदान रेसियो घटेको देखिएको छ ।

हाल सबैभन्दा उच्च बोनस दर रहेको कम्पनीको खर्च र दावी भुक्तानी बृद्धि हुँदा चिन्ता बढ्ने देखिएको छ । कम्पनीले हाल अधिकतम् ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार रुपैयाँ रहेको छ । कम्पनीको व्यवस्थापन खर्च १०.६६ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आवमा एक अर्ब १३ करोड रुपैयाँ खर्च गरेको कम्पनीले गत आवको अन्त्यसम्ममा एक अर्ब २५ करोड ४४ लाख भन्दा बढि खर्च गरेको आज प्रकाशित वित्तीय विवरणमा औल्याइएको छ ।

कम्पनीले आफ्ना अभिकर्तालाई दिन कमिशन रकममा १४.१० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा एक अर्ब ३३ करोड रुपैयाँ आफ्ना अभिकर्ताहरुलाई कमिशन वितरण गरेको नेशनल लाइफले गत आवमा एक अर्ब ५२ करोड रुपैयाँ कमिशन बापत वितरण गरेको देखिएको छ ।
कम्पनीको खुद नाफा ४० करोड ८८ लाख ९३ हजार ८९५ रुपैयाँ छ । कम्पनीले अघिल्लो आवको मुनाफालाई घट्न नदिई झिनो प्रतिशत भनेपनि बृद्धि गर्न सफल हुनुलाई व्यवस्थापनको सफलताको रुपमा लिइएको छ । अघिल्लो आवमा ४० करोड १२ लाख रुपैयाँ मुनाफा कमाएको कम्पनीले मुनाफा समीक्षा अवधीमा १.९२ प्रतिशतले बृद्धि भएको छ ।

हाल कायम बीमा पोलिसी संख्या ११.७९ प्रतिशतले बृद्धि भई १५ लाख ९६ हजार ८३० पुगेको छ । अघिल्लो आवमा कम्पनीको बीमा पोलिसी संख्या १४ लाख २८ हजार ३५९ वटा थियो ।

बार्षिक प्रतिवेदन अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १०.१३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १२५.१९ रुपैयाँ छ । त्यस्तै कम्पनीको प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४९९.९८ रुपैयाँ रहेको छ ।

गत आवको अन्त्य सम्ममा कम्पनीले पाँच अर्ब ९९ करोड ४८ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने बक्यौता दावी भुक्तानी ९६ करोड १७ लाख २६ हजार ७९३ रुपैयाँ बाँकी छ । गत आवमा कम्पनीले आफ्ना कर्मचारीहरुको लागि पाँच करोड ३२ हजार ९६ रुपैयाँ बोनस वितरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*