शेयर बजार ध्वस्त पार्दै धितोपत्र बोर्डका अध्यक्ष हमाल, घुसका लागि लगानीकर्ताको भविष्यसँग खेलवाड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनैतिक तरिकाले अघि बढाउन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सले पुँजि बजारमा तरंग मात्रै उब्जाएका छैन, लगानीकर्ताहरुको भविष्य जोखिममा पार्न लागिएकोले आतंकित बन्न पुगेका छन् । नेपाली लगानीकर्ताहरु यतिबेला दर्दनाक अवस्थामा बसिरहेका छन् । यही बीचमा नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ता गरेर दुईतिर कम्पनीहरु बाडिने भएपछि भएको लगानी छिन्नभिन्न भएर झनै मूल्य घट्ने र त्यस्तो अवस्थामा लगानीकर्ताहरुले आत्महत्या गर्ने अवस्था सिर्जना हुनसक्ने भएकोले लगानीकर्ताहरु आतंकित र तनाव पर्न थालेका छन् ।
पुँजि बजारको नियामक निकाय सेबोनले माफियासँगको सेटिङमा अर्थमन्त्री जनार्दन शर्मालाई बद्नाम गर्दै घुस सेटिङमा नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ता गर्न खोजेपछि लगानीकर्ताहरु सशंकित बन्न पुगेका हुन् । धितोपत्र बोर्डले नामै तोकेर शंकर ग्रुप र दीपक भट्टको समुहलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेपछि लगानीकर्ताहरु आन्दोलनको तयारीमा जुटेका छन् । केही ठूला लगानीकर्ताहरुलाई प्रभावमा पारेर सेबोनले नयाँ स्टक एक्सचेन्जको लागि वातारण बनाइसकेको सुत्रको दावी छ । नयाँ स्टक एक्सचेन्जलाई गैर कानुनी रुपमा लाइसेन्स दिन नियमावली नै संशोधन भएपछि लगानीकर्ताहरु झनै सशंकित बनेका छन् ।
संसदमै कुरा उठेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमाथि लगानीर्कतारु आन्दोलन गर्ने तयारीमा रहेको एक लगानीकर्ताले बीमापोष्टलाई बताए । तर, यस पटक संगठित रुपमा विरोध नहुने छाँटकाँट देखिएपछि लगानीकर्ताहरुको छुट्टै टिम बनाएर अघि बढ्न लागेका छन् । अहिले नै शेयरको मूल्य घटेर तनावपूर्ण अवस्थामा रहेका लगानीकर्ताहरु थप नयाँ स्टक एक्सचेन्ज कम्पनी स्थापना गरेर शेयर बजारलाई ध्वस्त बनाउन लागेको भन्दै लगानीकर्ताहरु आक्रोसित छन् ।
एक लगानीकर्ताले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘कतिपय मानिसहरुले नयाँ स्टक एक्सचेन्ज कम्पनी स्थापनापछि नेपाली पुँजि बजारमा पार्ने प्रभावका बारेमा बुझेका नै छैनन्, यसले मूल्य मात्रै घटाउँदैन, लगानी पनि घटाएर क्रय क्षमता ह्रास हुन गई बजार झनै अस्तव्यस्त हुनेछ ।’
बजारमा लगानीकर्ताहरुको भविष्य जोखिममा पार्ने काममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमाल अघि बढेका छन् । भ्रष्टाचारी र थर्मल गन तस्करीमा संलग्न अभियुक्तहरुसँग मिलेर धितोपत्र बोर्डका अध्यक्ष हमालले अर्थमन्त्री जनार्दन शर्मा जस्तो जनमुक्ति सेनाका कमाण्डरलाई समेत बद्नाम गर्न उद्यत भएर लागेका छन् । यसले शेयर बजारलाई तहस नहस त पार्छ नै अर्थमन्त्री शर्माको इज्जत, इमान र इमान्दारितालाई समेत लिलाम गर्नेछ ।