त्रिशुली जलविद्युत कम्पनीद्धारा शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम बुझाउन माग

२८ भाद्र २०७९, मंगलवार १०:५१

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम माग गरेको छ । कम्पनीले चार वर्ष अघि जारी गरेको शेयरमा १० रुपैयाँका दरले अग्रिम भुक्तानी गरेका शेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँका दरले रकम माग गरेको हो ।

कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । सो शेयर २०७५ साल चैत १४ गते बाँडफाँड गरिएको थियो ।

सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँको दरले माग गरिएको हो । शेयरधनीहरुले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

माग गरिएको ९० रुपैयाँमध्ये शेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज भएकोले ८७ रुपैयाँ बुझाउन कम्पनीले आव्हान गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीबाट साविकका सर्वसाधारण शेयरधनीहरुलाई आव्हान गरेको चुक्ता हुन बाँकी रकम बुझाउनका लागि समयमा नै आफ्नो हितग्राही खाता र बैंक खाता अद्यावधिक गर्न र मेरोशेयर नविकरण गर्न कम्पनीले अनुरोध गरेको छ। शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएक एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन।आवेदन गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*