शेयरबजारमा एकाएक छायो हरियाली, नेप्से सूचक २१ अंकले बढ्दा कारोबारमा देखिएन उत्साह

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा एकाएक हरियाली छाएको छ । केही समययता लगातार ओरालो लागेको नेप्से परिसूचक आज २१.३० अंकले बढ्न पुगेको छ ।
शेयरबजारमा बढेसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । तर २१ अंकले नेप्से सूचक बढेपनि कारोबार भने खासै सन्तोषजनक देखिएको छैन । नेप्से सूचक १.११ प्रतिशतले बढेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच हुँदा ९२ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो समय नयाँ स्टक एक्सचेञ्ज ल्याउने विषयमा लगानीकर्ताहरु त्यतै केन्द्रीत भएका कारण पनि कारोबारमा खासै उत्साह नदेखिएको हो । घट्दो शेयरमार्केटको अवस्थालाई लिएर लगानीकर्ताहरु आफुसँग भएको शेयर पनि होल्ड गरी बसेको नेप्से इन्डेक्स तथा मार्केट डेप्थले देखाएको छ ।
त्यस्तै, नेप्सेमा रहेका सबै सूचक भने आज चम्किएका छन् । केही दिनयता घट्ने गरेको सूचकहरुमा आज एकाएक हरियाली छाउन पुगेको छ । सर्वाधिक फाइनान्स सूचकको २.१३ प्रतिशतले बढ्न पुगेको छ भने उत्पादन तथा प्रशोधन समूहको १.८७ प्रतिशतले बढेको छ ।