यस्तो छ एभरेष्ट बैंकको १० वर्षे लाभांश इतिहास, ७३ प्रतिशतबाट १० प्रतिशतमा झर्यो, यसपल्ट कति देला ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल दिदै आइरहेको छ । बैंकको आर्थिक वर्षभित्र आर्जन गरेको मुनाफाबाट विभिन्न कोष र शीर्षकहरुमा छुट्याएपछि वितरणयोग्य मुनाफा बाँकी रहन्छ ।
सोही वितरणयोग्य मुनाफाबाट बैंकले शेयरधनीहरुलाई लाभांश बाड्ने गर्दछ । तर बैंकले छुट्याएको सो खालको मुनाफाबाट सबै हिस्सा शेयरधनीहरुलाई बाँड्छ नै भन्ने छैन, बैंकको लेखाजोखा वित्तीय विवरण तथा प्रतिवेदन लेखापरीक्षबाट तयार भइसकेपछि साधारण सभामार्फत छलफल गरी पारित गरिन्छ ।
साधारणसभाबाट पारित भएपछि कम्पनीको संचालक समितिको बैठकले शेयरधनीहरुलाई कति प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हुन्छ । तर उक्त निर्णय नियमक निकाय नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकको सम्पत्ति लेखाजोखा विवरण, वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरण रिसर्च गरेर मात्रै अनुमोदन गर्दछ । राष्ट्र बैंकले बैंकको क्यापासिटी तथा वित्तीय विवरण हेरेर मात्रै संचालक समितिले प्रस्ताव गरेको लाभांश स्वीकृत गर्ने गर्दछ ।
बैंकहरुले प्रत्येक आवमा आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम शेयरधनीहरुलाई वितरण गर्नुपर्ने राष्ट्र बैंकको नियमावलीमा रहेको छ । सोही अनुरुप एभरेष्ट बैंकले आर्थिक वर्ष २०६८।६९ देखि आफ्ना शेयरधनीहरुलाई लाभांश दिदै आइरहेको छ ।
बैंकले अधिकतम ७३ प्रतिशतसम्म लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७२।७३ मा एभरेष्ट बैंकले शेयरधनीहरुलाई संचित मुनाफाबाट चुक्तापुँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६३ प्रतिशत लाभांश बाँडेको थियो । सोही वर्ष बैंकले एक अर्ब ७३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै बैंकले कोरोना महामारीको समय रहेको अघिल्लो आर्थिक वर्ष २०७७।७८ मा समेत शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी कुल १०.३२ प्रतिशत वितरण गरेको थियो । कोरोना महामारीले बैकिङ्ग कारोबार नै धरापमा परेको समयमा पनि बैंकले उक्त आवमा एक अर्ब ८२ करोड रुपैयाँमाथि खुद नाफा आर्जन गरेको थियो । सोही आवमा बैंकले २ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको थियो । तर सोही अवधि बैंकको चुक्तापुँजी ८ अर्ब ९३ करोड रुपैयाँमाथि भएको कारण र प्रोभिजनका लागि छुट्याएपनि शेयरधनीहरुलाई १० प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।
गत आर्थिक वर्ष २०७८।७९ को असार मसान्तसम्म एभरेष्ट बैंकले आफ्नो बैकिङ्ग व्यवसायमा उल्लेख्य सुधार गर्दै २ अर्ब ५४ करोड ६० लाख रुपैयाँमाथि खुद नाफा आर्जन गरेको थियो । आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछि बैंकले सो आवका लागि ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको थियो ।
बैंकले हालसम्म गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन । तर वितरणयोग्य मुनाफा र चुक्तापुँजीको आधारलाई गणना गरी हेर्दा बैंकले ४१.१६ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राख्दछ । तर बैंकले कुल वितरणयोग्य मुनाफाबाट पनि कर्मचारी बोसन भत्ता लगायतका विभिन्न शीर्षकमा खर्च गर्न सक्ने भएको कारण यति उति नै लाभांश बाँड्न सक्ने भनेर यकिन गर्न सकिँदैन ।
यस्तो छ एभरेष्ट बैंकको १० वर्षे लाभांश इतिहास :