एसएलएफको अवधी बढाउन बैंकर्स संघको माग, दशैंमा तरलता अभाव हुन नदिन राष्ट्र बैंक समक्ष आग्रह

५ आश्विन २०७९, बुधबार १७:३६

काठमाडौं । नेपाल बैैकर्स संघले राष्ट्र बैंकको तरलता परिचालन सम्बन्धी टुल्स स्थायी तरलता सुविधा (एसएलएफ) को समयावधी बढाउन आग्रह गरेको छ । संघले दसैंको समयमा लामो समय बिदा हुने भएकोले एसएलएफको अवधि बढाउन नियामक निकाय राष्ट्र बैंक समक्ष आग्रह गरेको हो । बैंकहरुमा तरलता अभाव कायमै रहेकोले ७ दिने एसएफएफको अवधी बढाउन माग गरेको हो । दशैंको समयमा कार्यालय विदा हुने भएकोले यस्तो सुविधा दिन माग गरेको छ ।

बैंकर्स संघ, विकास बैंकर्स संघ र नेपाल वित्तीय संस्था संघले नेपाल राष्ट्र बैंकलाई दसैँको अवधिमा पनि एसएलएफ सुविधा माग गर्दै सहजीकरण गरिदिन राष्ट्र बैंकलाई आग्रह गर्दै गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन् ।

एसएलएफ लिन नपाएमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भन्दा बढी पुग्ने हुँदा धेरै बैंक तथा वित्तीय संस्था जरिवानामा पर्ने सम्भावना भएकोले पनि बैंकहरुले आग्रह गरेका हुन् । हाल उनीहरुले सीडी रेसियो मेन्टेन गर्नका लागि एसएलएफ सुविधा लिइरहेका छन् । प्रत्येक दिन सीडी रेसियो ९० प्रतिशत नपुगेमा राष्ट्र बैंकले जरिवाना गर्ने गरेको छ ।
नियामकको उक्त परम्पराअनुसार बैंक तथा वित्तीय संस्थाले लगेको सबै एसएलएफ ७ दिनभित्रमा भुक्तानी गरिसक्नुपर्नेछ । लामो समय बिदा हुने अवस्था आएमा राष्ट्र बैंकले बिदाभन्दा अघिल्लो दिन नै राफसाफ हुने गरी मात्र एसएलएफ दिँदै आएको छ ।
असोजको १५ गते देखि २२ गते सम्म दसैँ बिदा छ । तर अधिकांश बैंकहरूले दसैँबिदामा कार्यालय (केही दिन र केही शाखाबाहेक) सञ्चालन गर्दै आएका छन् । ७ दिने अवधीका एसएलएफको भुक्तानी गर्दा बैंकलाई तरलता व्यवस्थापन चुनौतीपूर्ण हुने भएकोले त्यसको अवधि बढाउन बैक तथा वित्तिय संस्थाले लबिङ गरेका हुन् ।

एसएलएफको ७ दिनको अवधिमा बढाएर एक पटकका लागि ९ दिनको बनाउन आग्रह गरेका छन् । सो सन्दर्भमा मंगलबार नेपाल राष्ट्र बैंक र बैंकहरूबीच छलफल तय गरिएको छ । एसएलएफको समयावधि बढाउने विषयमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नै निर्णय गर्नुपर्ने नभएकोले बिदाको दिनमा पनि कार्यालय खोल्ने विषयमा भने सहमति हुन सक्ने बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*