ब्याजको लोभमा बैंकमा मात्रै पैसा थुपार्ने काम नगरौं, उत्पादनमूलक क्षेत्रमा जोड दिऔंं: अर्थमन्त्री शर्मा

६ आश्विन २०७९, बिहीबार १५:२४

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय बैंकहरुले बढाएको ब्याजदरलाई लिएर बैंकमा मात्रै पैसा डिपोजिट गरेर अर्थतन्त्र चलायमान नहुने बताएका छन् । आज भृकुटीमण्डपमा आयोजित नाडा इभि अटो एक्स्पोको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुले डिपोजिटमा चर्को ब्याजदर देखाएर डिपोजिट संकलन गर्दा यसले राष्ट्रको अर्थतन्त्र चलायमान हुन सक्दैन’, उनले भने, ‘बैंकमा मात्रै पैसा थुपार्नु भन्दा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।’

बैंकहरुले महँगो ब्याजदर देखाएर बैंकमा पैसा तानिरहेको बताउँदै यसले देशको विकास नहुने बताए । उनले भने, ‘बैंकहरुले १३।१४ प्रतिशत ब्याजदर निर्धारण गर्दा देशको विकास कसरी हुन सक्छ ? यसले एकपक्षीय अर्थतन्त्रको मात्रै सुधार हुन्छ, उनले भने ‘एउटाले कमाउने अर्कोले घाटा बेहोर्ने जस्तो भइरहेको छ’ । साथै यस विषयमा आगामी साता गम्भीर छलफल गर्ने अर्थमन्त्री शर्माले बताए ।

साथै उक्त कार्यक्रममा अर्थमन्त्री शर्माले आयात प्रतिस्थापन गरी उत्पादनमा जोड दिनुपर्ने बताए । आयात प्रतिशत घटाई निर्यातलाई बढाउनुपर्ने उनले बताए । ‘अब हरेक क्षेत्रको उत्पादनलाई संस्कृतिको रुपमा लिनुपर्छ’ उनले भने, ‘कृषिमा प्रोत्साहनमूलक नीति ल्याउनुपर्छ, यसले अर्थतन्त्र सुधारमा सहयोग पुग्नेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*