मेहनत गरे के हुँदैन र? जैसरा पंगेनीको साहसिलो कथा शिक्षिकाबाट रिटायर्डपछि नेपाल लाइफमा उत्कृष्ट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोेरेशन एलआईसी (नेपाल)बाट बीमा क्षेत्रमा प्रवेश गरेकि जैसरा शर्मा पंगेनी हाल नेपाल लाइफको सिनियर एजेन्सी म्यानेनजरमा कार्यरत छिन् ।पर्वतको हुवास गाविस वडा न. ७ मा जन्मिएकी जैसरा पढाईको सिलसिलामा स्याङजा हुँदै जागिरबाट अवकास पाएपछि काठमाडौँ आएर बीमा क्षेत्रमा प्रवेश गरिन् । उनी हाल नेपाल लाइफको सर्वाधिक कारोबार गर्ने एजेन्सी म्यानेनजरको परिचय बनाउन सफल भएकी छिन् ।
मेहनत गरे के हुँदैन र ? भन्ने उदाहरण जैसराबाट सिक्न सकिन्छ । नेपाल सरकारको जागिर अवकास पछि बीमा क्षेत्रमा प्रवेश गरेकि जैसराले बीमा क्षेत्रको बाटोमा लागेदेखि पछाडि फर्केर हेर्नु परेको छैन । बीमा अभिकर्ता जस्तो स्वतन्त्र पेशामा लागेर थप सहज भएको उनी बताँउछिन् ।
दुई दशक सरकारी विधालयमा हेडमास्टरको पेशाबाट अवकाशपाएर बीमा क्षेत्रमा प्रवेश गरेकि जैसराले हाल जीवन बीमा अभिकर्ता बनेर सचेतना दिँदै आईरहेकि छिन् ।
सुरुमा बीमाबारे खासै नबुझेकी जैसराले बीमा गर्ने क्रममा बीमा अभिकर्ताबाट पाएको बीमा शिक्षासँगै आकर्षित हुँदै जाँदा बीमा क्षेत्रकै नक्षेत्र बन्न सफल भएकी छिन् । बीमा सम्बन्धी तालिम र प्रयोगात्मक अभ्यासले थप यस पेशाप्रति प्रभावित हुँदै गएकी जैसराले नेपाल लाइफबाट बीमा व्यवसाय गरेर एमडिआरटी, सिओटी र टिओटीको लक्ष्य हासिल गरिसकेकी छिन् ।
बीमा बुझेको दिनदेखि नै अभिकर्ता बनेर काम गर्न थालेको बताउने जैसरा सुरुमा बीमा अभिकर्ता बन्न आफ्नै परिवारकै बीमा गरेर व्यवसाय सुरुवात गरेकी थिईन् ।
बीमा व्यवसायका सुरुवाती दिन सम्झदै भनिन्, ‘बीमा अभिकर्ता बनेपछि आफन्तहरुले जीवन बीमा भनेको के हो ? भनेर सोध्न थाले, मैले बचत हो, बचत गर्दा कल्पना गरिएको जोखिम बराबरको रकम पाइन्छ भन्दै जानी नजानी बीमा शिक्षा दिन थाले ।’
यसरी नै बीमाबारे सचेतना फैलाउँदै अघि बढ्ने क्रममा आज एक सफल एजेन्सी म्यानेनजरको रुपमा आज नेपाल लाइफकै परिचित बन्न पुगेकी छिन् ।
‘खासमा हामी बीमा परामर्शदाता हौं, हामी कन्सल्टेन्ट हौं, हामीलाई कम्पनीले तलव दिएको हुँदैन । तर, हामी बीमितहरुको आम्दानी विश्लेषण गरेर बीमा शुल्क क्षमता पत्ता लगाएर बीमा गरिदिन्छौं ।’ बीमा अभिकर्ता पेशमा दख्खल भइसकेकी जैसरा शर्मा पंगेनी भन्छिन् ।
बीमा अभिकर्ता बनेर सुरुवाती अवस्थाको संघर्षबारे भनिन्, ‘सुरुमा बीमाबारे आफैलाई धेरै जानकारी नहुँदा र बीमाबारे बुझाउन पनि समस्या थियो । बीमा अभिकर्ताको मुख्य मन्त्र भनेको धैर्यता हो । एक सफल अभिकर्ता बन्न धैयर्ताको निकै आवश्यक रहेको उनी बताँउछिन् । अभिकर्ता पेशालाई सामाजिक पेशा तथा सर्वोत्कृष्ट पेशाका रुपमा लिँदै जैसराले भनिन्, ‘अभिकर्ता पेशा यस्तो पेशा हो, जहाँ लागे पछि सबै कुरा पाईन्छ । आर्थिक पाटो, इज्जत, पब्लिक रिलेशनलगायत समाजमा सामाजिक कार्य गर्न पाईन्छ ।’
जैसरा आफ्नो पेशाप्रति निकै सन्तुष्ट र आत्मविश्वाससाथ भन्छिन्, ‘सबै दृष्टिकोणले हेर्दा अभिकर्ता पेशा उत्तम पेशा हो । बीमा अभिकर्ता त्यस्ता व्यक्ति हुन्, जसले समाजमा छरिएर रहेको स–साना पैसालाई टिपेर ल्याएर राष्ट्रलाई आवश्यक पर्ने ठूलो कोष सृजना गर्ने, जोखिममा रहेका आम मानिसलाई सानो रकम तिरेको आधारमा भोलि भविष्यमा हुने जोखिमलाई सामना गर्न सघाउँछन् ।’
आफु आवद्ध भएको कम्पनी कुन हो ? त्यो कम्पनीमा के कस्ता खालका बीमा पोलिसिहरु छन् ? कुन व्यक्तिलाई कस्तो पोलिसि आवश्यक छ ? भन्ने लगायतका कुरामा जोसुकै अभिकर्ता पनि जानकार हुनुपर्ने जैसरा बताँउछिन् । ‘बीमा अभिकर्ता इमान्दारिता, निरन्तरता, धैर्यता, समयमा चलायमान रहनुपर्दछ’ उनी भन्छिन् ।
जैसरा भन्छिन्, ‘जीवन बीमा सबै जनालाई नभई नहुने कुरा हो । तर आज पनि नेपाली समाजमा जीवन बीमालाई बुझ्ने थोरै छन् । बुझेर बीमा गर्ने मान्छे थोरै छन् । म अहिले धनी छु । मेरो आम्दानी पनि राम्रो छ । यस्तो अवस्थामा मलाई बीमा किन चाहियो र ? भन्ने खालका मानिसहरु पनि बजारमा पाईन्छन् । तर समय एकैनास नहोला ।
‘हामी सधै यहि अवस्थामा रहि रहदैनौँ । समयसँगै हाम्रो उमेर सकिन्छ । उमेर छँदै, कमाई छँदै बीमा गर्ने हो भने बुढेसकालको लौरो जीवन बीमा बन्न सक्छ’, हामीलाई आफ्नै जीवनकालमा र आफ्नो जीवन पर्यन्त समेत जीवन बीमा आवश्यक छ ।
अभिकर्ता पेशामा निरन्तर लागि परे सम्भावना रहेको उनले बताईन् । धैर्यता र निरन्तर रुपमा लागि पर्ने जो कोही पनि सफल हुने उनको अनुभव छ । ‘यो पेशा सजिलै सफल हुने पेशा त होईन । लडेपछि उठिन्छ भन्ने आटलाई भने लिएर हिड्नु पर्छ ।’ जैसराले भनिन् ।
यो पेशामा कसको लागि किन ? कसको लागि ? र केका लागि ? भनेर सबैलाई चासो छ । हामीले यही कुरा प्रष्ट बुझाउन सक्यौं भने बीमा व्यवसाय विस्तारमा मद्दत पुग्छ, प्रशिक्षणको शैलीमा उनी बताँउछिन् ।
जीवन बीमा भनेको बचत र जोखिम दुवै हो । यो एउटा करार हो । अवधी पूरा भयो, कागजातसहित बीमा पोलिसी लिएर आउनुस्, तपाईको पैसा लिएर जान पाउनुहुन्छ ।
र, यदि कुनै घटना भयो भने बाँचेका परिवारलाई त राहत हुन्छ, त्यसैले यो जीवन बीमा भनेको हो । मानिसको जीवनको ग्यारेन्टी नभए पनि बाँचेका परिवारहरुको भविष्य ग्यारेन्टी गर्ने सेवा जीवन बीमा हो । अर्को बीमा निर्जिवन बीमा छ । निर्जीवन बीमा भनेको, घर, गाडी, शरीरका अंगहरुको, स्वास्थ्य उपचारको खर्च व्यहोर्न पनि बीमा हुन्छ ।
निर्जीवन बीमा तिरेको पैसा फिर्ता आउदैन । जीवन बीमाको विशेषता भनेको आफूलाई केही पर्दा पैसा पाइयो । केही भएन भने बचत रकम बोनस रकम सहित फिर्ता पाइन्छ ।
हामी अभिकर्ता हौं ।
हामीलाई मानिसहरुले बीमा गर्ने प्रस्ताव अघि बढाउँदा दर्जन पटक पनि रिजेक्ट गर्छन । कसैले तपाईले अबदेखि बीमाको कुरा लिएर नआउनु पनि भन्छन् । त्यसो भन्दैमा हामीले हरेस खाने होइन, धैर्यता गर्नुपर्दछ । सानो रकम बचत गर्नुभयो भने बुढेसकालमा पक्कै पनि सजिलो हुन्छ भन्ने कोणबाट बुझाउँदै लाँदा पक्कै पनि एक दिन मान्छन् ।
बीमा समितिको अपरिपक्क निर्णयको कारण बीमा अभिकर्ताहरुलाई समस्या पर्ने गरेको उनी बताँउछिन् । दीर्घकालीन र उचित निर्णय बीमा समितिले लिन नसक्दा बीमा अभिकर्ताहरुलाई काम गर्न समस्या रहदै आएको उनको भनाई छ । बीमा अभिकर्ताको लाईसेन्स वितरणमा प्रभावकारी नियमन गर्न नसकेको तथा नविकरणमा कडाईका साथ नहुँदा पछिल्लो समय विभिन्न अप्रिय घटनाक्रम बढ्दै गईरहेको छ ।
बीमा अभिकर्तालाई दिनुपर्ने तालिम प्रभावकारी नभएको उनको बुझाई छ । घर–घरमा लाईसेन्स वितरण गरेर बीमा अभिकर्ताको सङख्या मात्रै उल्लेखनिय देखाँउदा यो पेशा धरापमा गईरहेको उनको भनाई छ ।
सरकारले पनि अभिकर्तालाई आर्थिक पाटोको मेरुदण्ड हुन् भनेर बुझ्न जरुरी रहेको उनी बताँउछिन् । पछिल्लो पटक गैर कानुनी रुपमा बीमा अभिकर्ताको लाइसेन्स संस्थागत रुपमा वितरण गरेर सरकारले अर्को अन्याय गरेको उनको बुझाई छ ।
राज्यलाई विशुद्ध रुपमा कर तिर्ने बीमा अभिकर्ताप्रति राज्यको ध्यान जानु जरुरी रहेको जैसरा बताँउछिन् । जीवन बीमाको मेरुदण्ड अभिकर्ताले सानो सानो रकम जम्मा गरेर ठूलो फण्ड बनाउन सहयोग गरेको भन्दै राज्यले उचित रुपमा अभिकर्ता पेशालाई नहेरेको भन्दै गुनासो गछिन् ।
अभिकर्ता पेशा प्रति सन्तुष्ट रहेकी जैसराले अभिकर्ता पेशामा भविष्य रहेकोले नयाँ अभिकर्ताहरुलाई दृढतापूर्वक हिम्मत गरेर अघि बढ्न सुझाव दिन्छिन् । आत्मविश्वास, धैर्यता र निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यस पेशामा सफल हुन सक्ने कुरामा उनको जोड छ ।