भदौं महिनामा १८ निर्जीवन बीमा कम्पनीको व्यवसाय २४% ले घट्यो, प्रभु एक्लैको बृद्धि, सगरमाथा र हिमालयन एभरेष्टको व्यवसाय खस्कियो

२६ आश्विन २०७९, बुधबार १७:४७

काठमाडौं । चालु आवको दुई महिनाको कूल बीमा शुल्क आम्दानी सम्बन्धी बीमा कम्पनीहरुले बुझाएको विवरण बीमा समितिले आज सार्वजनिक गरेको छ । जस अनुसार साउन महिनाको तुलनामा भदौं महिनामा निर्जीवन बीमा व्यवसाय २४.१ प्रतिशतले गिरावट आएको छ ।

नेपालमा सञ्चालित कूल १९ वटा निर्जीवन बीमा कम्पनीहरुले गत भदौंमा तीन अर्ब ३९ करोड ८७ लाख २० हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा प्रभु इन्स्योरेन्स एक्लैको व्यवसाय बढेको छ भने अन्य १८ कम्पनीहरुको व्यवसाय घटेको छ । गत साउन महिनामा यी कम्पनीहरुले चार अर्ब ४७ करोड ५४ लाख ८८ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा चालु आवको दोस्रो महिनामा बीमा शुल्क आम्दानी एक चौथाईले घटेको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार प्रभु इन्स्योरेन्सले सबैभन्दा राम्रो ग्रोथ गर्न सफल भएको छ । सो कम्पनीले पहिलो महिनाको तुलनामा दोस्रो महिनामा ८८.६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।  सो कम्पनीले साउनमा १० करोड रुपैयाँ प्रिमियम संकलन गरेकोमा भदौं महिनामा १९ करोड ५१ लाख पुर्याउन सफल भएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्स बाहेक सबै कम्पनीहरुको बीमा व्यवसाय ह्रास आएको छ ।

दोस्रो नम्वरमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनी सामान्य मात्रै ह्रास भएको छ । गत साउनमा २७ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेकोमा गत भदौं २६ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, अजोड इन्स्योरेन्सको व्यवसाय ६.१ प्रतिशतले घटेको छ । गत साउन महिनामा १६ करोड कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले भदौं महिनामा १६ करोडमा सीमित भएको छ । त्यस्तै प्रिमियर इन्स्योरेन्स कूल बीमा शुल्क आम्दानी २१ करोडबाट १९ करोडमा झरेको छ ।

युनाइटेड इन्स्योेरेन्सको कूल बीमा शुल्क आम्दानी १० करोडबाट झरेर नौ करोडमा सीमित हुँदा नेपाल इन्स्योरेन्सको कूल बीमा शुल्क आम्दानी १६ करोडबाट झरेर १४ करोडमा आएको छ ।
यस पटक शिखर इन्स्योरेन्स बीमा व्यवसाय १० प्रतिशतले तल झर्दा एनएलजीको १२ प्रतिशत, प्रुडेन्सियलको १३ प्रतिशतले तल झरेको छ । त्यस्तै आईजिआई र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको २० प्रतिशतले तल झर्दा लुम्बिनी जनरलको २२ प्रतिशत, सिद्धार्थको २३ प्रतिशतले तल झरेको छ ।

पुराना कम्पनीहरु सगरमाथा इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमा व्यवसाय क्रमशः २० र ३० प्रतिशतले तल झरेको छ । सगरमाथा इन्स्योरेन्सले साउन महिनामा ३२ करोड कूल बीमा शुल्क आम्दानी गरेकोमा भदौं महिनामा घटेर २६ करोडमा सीमित भएको छ । त्यस्तै मर्जर पछि के के न हुन्छ भन्दै हल्ला गरिरहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको व्यवसाय ३३ करोडबाट झरेर २३ करोडमा सीमित भएको छ ।

सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क आम्दानी सबैभन्दा धेरै ५७.१ प्रतिशतले घटेको छ । साउन महिनामा ८४ करोड रुपैयाँ आम्दानी गरेकोमा भदौं महिनामा ३६ करोड रुपैयाँ आम्दानी गरेको छ । कर्मचारीले काम गरेर भन्दा पनि सरकारी आरक्षणको बीमा उठाउने सो कम्पनीको प्रोजेक्टको रकम आए बढ्ने र नआए घट्ने गर्दछ ।

भारतीय कम्पनीको शाखा कार्यालय नेशनल इन्स्योरेन्सको बीमा शुल्क आम्दानी ५१.४ प्रतिशतले घट्दा जनरल इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आम्दानी ४५.९ प्रतिशतले घटेको छ । त्यस्तै दि ओरियन्टल इन्स्योरेन्सको कूल बीमा शुल्क ३९.५ प्रतिशतले घटेर ११ करोडमा सीमित हुन पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*