तीन कम्पनीको साधारण सभा भोलि बस्दै, कसले कति लाभांश दिदैछ ?

३ कार्तिक २०७९, बिहीबार १४:०७

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (कात्तिक ४) गते शुक्रबार बस्दैछ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा, गुराँस लाइफ इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारण सभा र सिटिजन्स बैंक इन्टरनेशनल बैंकको सोह्रौं वार्षिक साधारण सभा शुक्रबार बस्ने भएको हो ।

गुराँस लाइफ इन्स्योरेन्स
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक ४ गते वार्षिक साधारणसभा डोकेको छ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । इन्स्योरेन्सको असोज १२ गते बसेको संञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले सेयरधनीलाई ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले समितिबाट पेश भएको यूनियन लाइफ र प्राइम लाइफ सँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक ४ गते अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीको सो सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम ९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साथै उक्त सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात साबिक पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको ५१.०७ः४८.९३ बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने जस्ता प्रस्तावहरु पारित गर्नेछ ।

यसका अलावा आव २०७८।७९ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब (बुकक्लोज) असोज २८ गते एक दिनका लागि तोकेको छ । यसथै असोज २७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित जनाउन साथै प्रस्तावित लाभांश पाउनेछन् ।

हिमालयन रि इन्स्योरेन्स
हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा भोलि (कात्तिक ४)गते बस्दैछ । कम्पनकिो गत असोज ३ गते बसेको संचालक समितिको बैठकले सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीको सो सभाले प्रबन्धपत्र तथा नियममावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलार्य आवश्यक सम्पूर्ण अधिकार प्रयोजन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी प्रदान समेत गर्नेछ ।

यसका अलावा कम्पनीको उक्त सभाले सामान्य प्रस्तावबमोजिम आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता अनुसुचीहरुसहितको वित्तीय विवरणामाथि छलपल गरी पारित गर्नेछ ।

कम्पनीले पुनर्बीमा ब्यवसाय संचालन गरेको भर्खरै दुई वर्ष मात्रै हुन लागेको छ । कम्पनीले सर्वसाधारणमा हालसम्म शेयर जारी गरेको छैन । यसर्थ कम्पनीको प्रस्तावमा शेयर जारी तथा लाभांश प्रस्तावहरु समावेश छैनन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*