नेपाल पुनर्बीमा कम्पनी नवौं वर्षमा प्रवेश, अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट बनाउने प्रतिवद्धता

२१ कार्तिक २०७९, सोमबार ११:२८

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट नवौं वर्षमा प्रवेश गरेको छ ।नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो । आठौं वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेले अन्तर्राष्ट्रिय जगतका सामू विश्वासयोग्य कम्पनीको रुपमा स्थापित गराएर कम्पनीको अन्तर्राष्ट्रिय व्यवसायमा बृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

बार्षिकोत्सवको अवसरमा अध्यक्ष डा. घिमिरेले शुभकामना सन्देश दिँदै भने, ‘कम्पनीले छोटो अवधीमा राम्रो अन्तर्राष्ट्रिय छवी बनाउन सफल भएको छ, नेपालबाट बार्षिक अर्बौ रुपैयाँ विदेश जान जोगिएको छ, अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने देशकै गौरवयोग्य कम्पनीको रुपमा स्थापित बनेको छ ।

यसमा योगदान दिने नेपाल सरकार, शेयर लगानीकर्ताहरु, पूर्व प्रशासकहरु, सबै कर्मचारीहरु, बीमा कम्पनीहरु, पुनर्बीमा एजेन्टहरु र नियामक निकायसहित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै विश्वासयोग्य कम्पनीको रुपमा स्थापित गरेर उत्कृष्ट पुनर्बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।’ आठौं बार्षिकोत्सवको अवसरमा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले नेपालबाट र अन्तर्राष्ट्रिय क्षेत्रबाट पुनर्बीमा शुल्क संकलन गरेर नेपाल पुनर्बीमा कम्पनीलाई विश्वासयोग्य र उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको स्थापनाको सात वर्षमा कम्पनीले नेपालमा सञ्चालित ३८ वटा बीमा कम्पनीहरुलाई पुनर्बीमाको विकल्प दिँदै ठूलो मात्रा पुँजि विदेशिनबाट रोक्न सफल भएको छ । नेपाल पुनर्बीमा कम्पनी स्थापनाको नवौं बार्षिकोत्सव मनाइरँदा कम्पनीले विदेशबाट समेत करोडौं रुपैयाँ बीमा शुल्क नेपाल भित्राई विदेशी मुद्रा आर्जन गर्ने एक मात्र सेवामूलक व्यवसाय बन्न सफल भएको छ ।

नेपालमा २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्ध (जनयुद्ध) को समयमा आतंकवादी आक्रमणमा हुने क्षतिको छुट्टै कोषमार्फत व्यवस्थापन गरिएको थियो । २०६३ साल मंसिर ५ गते तत्कालिन नेपाल सरकार र माओवादीबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौतामार्फत द्वन्दरत माओवादी राजनीतिक मूलधारमा आएपछि आतंकवाद बीमा पुलको औचित्य लगभग सकिएको निष्कर्षसहित सो पुलमा जम्मा भएको रकमबाट नेपाल पुनर्बीमा कम्पनीको नेपाल सरकारले प्रबद्र्धन गरेको हो ।

द्वन्दको समयमा गैर प्राकृतिक र माओवादी पक्षबाट पुर्याउने क्षतिको व्यवस्थापनको लागि सुरुमा तत्कालिन श्री ५ को सरकारको पाँच करोड र १७ वटा निर्जिवन बीमा कम्पनीको ३५/३५ लाखको लगानी गरेर आकस्मिक बीमा कोष खडा गरिएको थियो । सोही कोषलाई वि.स २०७१ कार्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनीको रुपमा स्थापना भएको थियो । स्थापनाको छ वर्षमा कम्पनीले नेपालमा सञ्चालित ३८ वटा बीमा कम्पनीहरुलाई पुनर्बीमाको विकल्प दिँदै ठूलो मात्रा पुँजि विदेशिनबाट रोक्न सफल भएको छ ।

स्थापनाको नवौं बार्षिकोत्सव मनाइरँदा कम्पनीले विदेशबाट समेत करोडौं रुपैयाँ बीमा शुल्क नेपाल भित्राउन सफल भएको छ । विदेशमा सेवा प्रवाह गरेर विदेशी मुद्रा भित्राउने नेपालको सम्भवतः एक मात्र कम्पनीको रुपमा पुनर्बीमा कम्पनीले वित्तीय कारोबार गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*