नेपालकै पहिलो नेपाल पुनर्बीमा कम्पनीको नालीबेली

रमेश लम्साल
२५ कार्तिक २०७९, शुक्रबार ११:३७

संस्थापक सीईओ (२०७१ कात्तिक देखि २०७२ सम्म) नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनी स्थापना गर्नमा आकस्मीक बीमा कोषका तत्कालिन कार्यकारी प्रमुख रमेश लम्सालको मुख्य भुमिका छ । आकस्मीक बीमा कोषमा कार्यकारी प्रमुख हुदाँ हुदैं उनले कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गरेका थिए । साथै, उनी बाँकी रहेको कार्यकालभरका लागि नेपाल पुनर्बीमा कम्पनीको सीईओ स्वतः भए । त्यो अवस्थामा पुनर्बीमा कम्पनी स्थापना गर्ने अवधारण कहाँबाट आयो ? नेपालमा पुनर्बीमा कम्पनी स्थापना गर्नुको उद्देश्य के थियो ? प्रस्तुत छ, सोही बिषयमा केन्द्रीत रहेर उनै लम्सालसँग गरेको कुराकानीको सारः

नेपालका बीमा कम्पनीहरुले विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाएकै थिए । साथै, आतंकबाद तथा हुलदंगा बीमाको पुनर्बीमा गर्न आकस्मीक बीमा कोष त थियो नै । त्यो अवस्थामा कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्नुपर्छ भन्ने अवधारण अथावा भावना कसरी आयो ?

अन्तरराष्ट्रिय बजारलाई हेर्दा भुटान, युगान्डा जस्ता नेपाल भन्दा साना मुलुकमा पुनर्बीमा कम्पनी सञ्चालनमा आइसकेका थिए । तर, उनीहरु भन्दा विकसित मुलुक मानिने नेपालमा भने पुनर्बीमा कम्पनी नहुनु बिडम्बनाको कुरा थियो । सोही कारण पनि नेपालमा पुनर्बीमा कम्पनी स्थापना गर्नुपर्छ भन्ने लागेको हो, किनकी यो हाम्रो प्रतिष्ठासँग जोडिएको बिषय समेत बनेको थियो ।

यस्तै, पुनर्बीमा कम्पनी हुन र नहुनुमा पनि धेरै फरक पर्छ । किनभने, बीमा कम्पनीले आफुले गरेको व्यवसायको पुनर्बीमा गर्नैपर्छ । तर, नेपालमा पुनर्बीमा कम्पनी नहुदाँ यहाँका बीमा कम्पनीले विदेशी कम्पनीमा पुनर्बीमा गर्दै आएका थिए । त्यसबापत बार्षिक १२/१४ अर्ब रुपैयाँसम्म बाहिरीन्थ्यो । त्यसैले पनि नेपालमा पुनर्बीमा कम्पनीको आवश्यकता उच्च थियो । त्यसपछि आतंकबाद बीमाको पुनर्बीमा गर्दै आएको कोषलाई नै पुनर्बीमा कम्पनीको रुपमा रुपान्तरण गर्ने योजना अघि सारेको हो ।

साथै, पुनर्बीमा कम्पनी स्थापना गर्नुको पछाडी दुई मुख्य उद्देश्य पनि थियो । एक, पुनर्बीमा मार्फत नेपालदेखि बाहिरीने रकम कम गर्दै लैजानु थियो । दोस्रो भने, विदेशी मुलुकमा व्यवसाय विस्तार गरेर विदेशी मुद्रा आर्जन गर्नु हो । सोहीअनुसार नेपाल पुनर्बीमा कम्पनी स्थापना गरेको हो ।

त्यसपछि कोषको बिभिन्न कोषमा भएको रकमलाई डीडीए गरेर चुक्तापुँजीमा रुपान्तरण गरियो । १० करोडबाट शुरु भएको उक्त कोषमा झण्डै २ अर्ब पुँजी भइसकेको रहेछ । त्यसमा नेपाल सरकार, बीमा कम्पनीहरुलाई थप शेयर लगानी गर्न लगाएर ५ अर्ब वा १० अर्बको चुक्तापूँजी बनाई २१ कात्तिक २०७१ मा कम्पनी दर्ता गरेको हो । त्यसपछि म पनि कोषको कार्यकारी प्रमुख भएको नाताले बाँकी कार्यकालको लागि स्वत कम्पनीको सीईओ भए । त्यसपछि म २०७२ बैशाखसम्म कम्पनीको सीईओ भएर काम पनि गरे । त्यसबेला मैले बिशेषगरि कम्पनीलाई सञ्चालनमा ल्याउने प्रक्रियागत काम गरेको थिए ।

आकस्मीक बीमा कोष भने कसरी स्थापना भएको थियो नि ?

यसको एउटा छुट्टै इतिहास छ । त्यो कोष २०६०/६१ मा स्थापना भएको हो । त्यसभन्दो केही समय अघि पेन्टागनको ट्वीन टावरमा हवाई आक्रमण भएको थियो । त्यसपछि अन्तरराष्ट्रिय बजारका बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरु हच्कीए । त्यो घटना पछि पुनर्बीमा कम्पनीहरुले त आतंकवाद सम्बन्धी बीमाको पुनर्बीमा नै गर्न छोडे । त्यसबेला नेपालमा पनि मोओवादी जनयुद्ध कायमै थियो । फलस्वरुप नेपालमा पनि ठुलो मात्रामा मानवीयन तथा आर्थिक क्षति भएको थियो । त्यही कारण बीमा कम्पनीहरुमा पनि दावी बढ्दै गएको थियो । त्यो अवस्थामा हामीलाई आतंकवाद सम्बन्धी पुनर्बीमा गर्न आवश्यक थियो, जुन भइरहेको पनि थियो । तर, ट्विइन टावरमा भएको आक्रमणपछि विदेशी पुनर्बीमाहरुले पुनर्बीमा नै गर्न छोडे, त्यसपछि बाध्य भएर आकस्मीक बीमा कोष स्थापना गरेको हो ।

नेपाल सरकारले ५ करोड र बीमा कम्पनीहरुले ५ करोड गरेर १० करोडको पुँजीमा कोष स्थापना भएको हो । बिशेषगरि त्यसबेलाका बिभिन्न १४ ओटा निर्जीवन बीमा कम्पनीहरुको सक्रियतामै उक्त कोष स्थापना भएको हो । विदेशी कम्पनीले आतंकवादको पुनर्बीमा लिन छोडेपछि बीमा कम्पनीहरु आफै कोष स्थापनामा सक्रिय भएका हुन् । त्यो कोषले तत्कालिन समयमा आतंकवाद सम्बन्धी बीमाको मात्रै पुनर्बीमा गर्दथ्यो ।

तपाईले कोषको प्रमुख कार्यकारी हुदाँहुदैं कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने अवसर पाउनु भयो । साथै, बाँकी कार्यकाल भर कम्पनीको सीईओ भएर पनि काम गर्नुभयो, त्यो क्षणलाई कसरी सम्झनु हुन्छ ?

मैले नेपाली बीमा क्षेत्रमा एउटा माइल स्टोन नै सावित गरे जस्तो लाग्छ । किनभने, कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने योजना २०६४/६५ बाटै सरकारको बार्षिक बजेट तथा कार्यक्रममा पर्दै आएको थियो । तर, त्यसबेलाका कार्यकारी प्रमुखले कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्न चाहेनन् । किनकी, पुनर्बीमा कम्पनीमा रुपान्तरण गरेपछि आफ्नो पद गुम्छ भन्ने डर उनीहरुमा भयो । तर, मैले त्यो डर भने लिएन । र, मैले कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने अघि बढाए र सफल पनि भए । त्यो साच्चै नै बीमा क्षेत्रको लागि एक माइल स्टोन नै हो । त्यो इतिहास मेरो नेतृत्वमै कायम भयो, त्यसमा मलाई गर्व लाग्छ ।

यो सफलताको पछाडी मुख्य गरि ५ व्यक्तिहरुको बिशेष सहयोग छ । तत्कालिन अर्थमन्त्री बर्षमान पुन, बीमा समितिका तत्कालिन अध्यक्ष फक्त बहादुर केसी, अर्जुन प्रसाद पोखरेल, तत्कालित सचिव बैकुण्ठ अर्याल र डिएम पराजुलीको बिषेश सहयोग रह्यो, उहाँहरुको सहयोगमा नै यो कम्पनी स्थापना गर्न सफल भयौं ।

नेपालमा पुनर्बीमा कम्पनी आफैमा नयाँ अभ्यास थियो, त्यो अवस्थामा कम्पनी स्थापना गर्न केही चुनौती भए कि ?

पक्कै पनि कम्पनी स्थापना गर्दा बिभिन्न चुनौती सामना गर्न पर्यो । बिशेषगरि हामीलाई पुँजी जुटाउन समस्या भयो । डिडिए गरेपछि आकस्मीक बीमा कोषबाट करिब २ अर्ब पुँजी बनेको थियो । त्यसलाई १० अर्ब पुर्याउन निकै सास्ती भयो । त्यसपछि पहिला शेयर सदस्य भएका निर्जीवन बीमा कम्पनीहरुलाई पनि थप लगानी गर्न भनियो । साथै, जीवन बीमा कम्पनीहरुलाई पनि शेयर लगानी गर्न अनिवार्य गरियो । त्यो बाहेक सरकारले पनि थप लगानी गर्यो । त्यसपछि नेपाल पुनर्बीमा कम्पनी स्थापना गरियो ।

कम्पनी स्थापना गर्ने मामलामा तपाईको योगदान महत्वपूर्ण छ । तर, तपाईको कार्यकाल धेरै बाँकी नहुदाँ तपाई कम्पनीमा लामो समयसम्म रहनु भएन । अहिले तपाई कम्पनी भन्दा बाहिर नै हुनुहुन्छ । बाहिरबाट हेर्दा कम्पनीको गतिविधि तथा विकास कत्तिको देख्नु हुन्छ ?

हो, म कम्पनीमा लामो समयसम्म भइन । तर, २०७७ मा केही समय सञ्चालक समितिको सदस्य भएर काम गर्ने अवसर भने पाए । त्यो पनि केही महिना मात्रै भयो । सञ्चालकमा बस्दा भने कम्पनीलाई नजिकबाट नियाल्ने अवसर पाए, त्यो हेर्दा जे सोचेर कम्पनी स्थापना गरेका थियौं, त्योअनुसार सञ्चालन भएको अल्ली देखिएन ।

विदेशी कम्पनीहरुले जसरी काम गरेका छन्, नेपाले रिले अझै त्योअनुसार काम गर्न सकिएको छैन । साथै, त्यसका लागि मार्केटीङ पनि पुगेको देखिदैन । विज्ञ तथा दक्ष जनशक्ति राखेर काम गर्नुपर्थ्यो, त्यो भने भएको देखिदैन ।

म सीईओ भएर पुनः काम गर्न पाएको भए हुन्थ्यो होला । त्यो अवसर जुटेन । तर, समग्रमा कम्पनीको विकास राम्रो नै छ । तर, जुन अनुसार हुनुपर्ने हो, त्योअनुसार भएको देखिदैन ।

तत्कालिन समयमा नेपाल सरकार र बीमा समितिको सहयोग भने कस्तो रह्यो ?

मैले मेरो कार्यकालमा सरकार र बीमा समितिको सहयोग राम्रो पाएको हो । समितिका तत्कालिन अध्यक्ष फत्त सरले हरेक भेटमा कोषलाई कम्पनीमा रुपान्तरण गर्न प्रोत्साहन गर्ने तथा झकझाउनु हुन्थ्यो । सरकारले पनि राम्रो सहयोग गरेको थियो । समग्रमा त्यसबेला समिति र सरकारको राम्रो सहयोग थियो ।

तपाई सीईओ हुदाँ कम्पनीको विकासको लागि के कस्तो नीति ल्याउनु भएको थियो ?
पहिला त मैले कम्पनीको जग बसाल्ने गरि काम गरेको हुँ । सोहीअनुसार नै मैले व्यवसायीक नीति ल्याएको थिए । सोही कारण अहिले कम्पनी यो स्थानमा आएको छ ।तर, म कम्पनीमा लामो समयसम्म रहीन । त्यसकारण मैले शुरुवाती चरणमा कम्पनीलाई कारोबार गर्ने स्थानसम्म पुर्याउने गरि काम गरे । त्यो भन्दा बढी काम गर्ने गरि रणनीति बनाउनै पाइएन ।

मेरो कम्पनीमा कार्यकाल पनि छोटो भयो । पुनः सीईओ हुने मनाशयमा पनि थिए । तर, यसमा राजनीतिक नियुक्ती हुन्थ्यो । तर, मैले त्यसका लागि लविङ नै गर्न पाइन । किनकी त्यसबेला २०७२ बैशाख १२ गतेको भुकम्पले सबै तिर क्षतविक्षत तथा क्रास थियो । त्यसले गर्दा मैले तयारी पनि गर्न पाइन । तर, मलाई यसा केही गुनासो छैन । कम्पनी स्थापना गरेर इतिहास रचे, त्यसमै म खुसी छु ।

अबका दिनमा नेपाल पुनर्बीमा कम्पनीले के कसरी काम गर्नु पर्छ ? यसमा तपाईको सुझाव के छ ?

अझै पनि कम्पनी स्वदेशी बजार तथा बीमा कम्पनीबाट आउने डाइरेक्शेसन व्यवसायमा केन्द्रीत छ । डाइरेक्सेसन मार्फत आउने व्यवसायमा त कुनै दुःख नै गर्न पर्दैन नि । डाइरेक्सेशन व्यवसायले कम्पनी सरभाइव त होला, तर बलियो हुदैन । अहिले त कम्पनीमा सर्वसाधारणको शेयर पनि छ । उनीहरुलाई हरेक बर्ष प्रतिफल दिनुपर्ने कम्पनीको दायीत्व पनि छ । त्यसको लागि पनि व्यवसायमा बढाउन पर्नेछ । तसर्थ, व्यवसाय पनि बढाउने र दावी पनि समयमै दिने गरि कम्पनी अघि बढ्नुपर्छ ।

अहिले निजी क्षेत्रबाट हिमालयन रि इन्स्योरेन्स कम्पनीे आएसँगै यहाँ पनि प्रतिस्पर्धा हुन थालेको छ । तर, नेपालमा मै मात्रै प्रतिस्पर्धा गरेर बस्न हुदैन । बाहिरको बजारमा नेपाल रि इन्स्योरेन्स केन्द्रीत हुनुपर्छ ।

साथै, कम्पनीले आफ्नो प्रतिस्र्धा गर्ने क्षमता बढाउँदै लैजानुपर्छ । नेपालमा भोलिका दिनमा थप पुनर्बीमा कम्पनी नआउलान भन्न सकिदैन । साथै, विदेशी बजारमा पनि अन्य कम्पनीसँग प्रतिस्पर्धा त गर्नै पर्छ । तसर्थ, कम्पनीलाई कुनै पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि विकास गर्नुपर्छ ।
तर, पुनर्बीमा भख्खर प्रवेश गरेका जनशक्तिबाट हुदैन । पुराना विज्ञहरुलाई ल्याएर पनि कम्पनीमा राख्नुपर्छ ।

नेपालमा अहिले अर्काे पुनर्बीमा (हिमालयन रि) कम्पनी स्थापना भएको छ, त्यसलाई कसरी विश्लेषण गर्नु भएको छ ?

त्यो आउनु स्वभाविक हो । तर, नआएको भएपनि हुन्थ्यो । त्यो त नेपाल रिलाई सौता नै हालेको जस्तो भयो । तर, यसलाई बढी नकरात्मक रुपमा नलिऊ । तर, अब यो भन्दा बढी बीमा कम्पनी आवश्यक देखिदैन जस्तो लाग्छ ।

अन्त्यमा केही भन्न चाहानु हुन्छ ?

त्यस्तो मेरो खास केही छैन । मेरो नेतृत्वमा स्थापना भएको कम्पनीको बार्षिक उत्सव आएको छ, यो मेरो लागि पनि खुशीको बिषय हो । यो कम्पनी स्थापना गर्नमा मेरो ठुलो मिहिनेत छ । सोही कम्पनीको बार्षिक उत्सवको अवसरमा कम्पनीलाई हार्दिक बधाई तथा शुभकामना छ ।

नेपाल पुनर्बीमा स्मारिका, २०७९ बाट साभार गरिएको

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*