नेपाल पुनर्बीमा कम्पनीले स्वदेशी बजार भन्दा पनि विदेशी बजारलाई बढी प्राथमिकता दिनुपर्छ: पूर्व सिईओ भण्डारी

२७ कार्तिक २०७९, आईतवार ११:३३

(नेपाल रि) मा निजी क्षेत्रबाट नियुक्ती भएका पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, चिरायु भण्डारी । २०७२ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्म उनले सीईओको रुपमा कम्पनीलाई नेतृत्व गरे । उनको उक्त ४ बर्षे कार्यकाल कस्तो रह्यो त ? उनले त्यस अवधीमा के कस्ता कार्य सम्पादन गरे ? प्रस्तुत छ, यी नै बिषयमा केन्द्रीत रहेर भण्डारीसँग गरेको कुराकानीको सारः

तपाई, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) स्थापना भएपछि निजी क्षेत्रबाट नियुक्ती हुने पहिलो सीईओ हुनुहुन्छ । ०७२ साउनदेखि ०७६ असारसम्म सीईओ भएर नेपाल रिलाई नेतृत्व गर्नु भयो, त्यो क्षणलाई कसरी सम्झनु गर्नुहुन्छ ?

बास्तवमा म सीईओ भएपछि नै नेपाल रिले पुनर्बीमा व्यवसायको कारोबार शुरु गरेको हो । कम्पनी २०७१ कात्तिक २१ गते नै स्थापना भएको हो । तर, थप प्रक्रियाका कारण कारोबार शुरु भइसकेको थिएन । यद्यपि, आकस्मीक बीमा कोष अन्तरगतको व्यवसाय भने भइरहेको थियो । त्यसपछिको नयाँ व्यवसाय भने २०७२ साउन १ गतेदेखि शुरु भएको थियो, सोही दिननै मैले कम्पनीमा सीईओको पदभार गरेर व्यवसाय शुरु गरेको हो । पहिलाको आकस्मिक बीमा कोषले बार्षिक ९० करोडसम्म व्यवसाय गरेको थियो । पछि त्यो नेपाल रि बनेपछि पहिलो बर्ष नै अर्बाै रुपैयाँको कारोबार गरेका थियौं ।

त्यसबेला नेपाल सरकार, बीमा समिति, सञ्चालक समितिबाट पनि राम्रो सहयोग भयो । फल स्वरुवप नेपाली बीमा कम्पनीहरुको २० प्रतिशतको अनुपातमा डाइरेक्सेशन व्यवसाय लिने व्यवस्था पनि भयो । समग्रमा मैले आफ्नो कार्यकालमा कम्पनीको जग बलियोसँग राखे र छोटो समयमै कम्पनीलाई स्थापित पनि गर्न सफल भयौं ।

नेपाल रिको स्थापना कालमा बजार तथा व्यवसाय कस्तो थियो, अहिले कम्पनी भन्दा बाहिरबाट हेर्दा बजार कस्तो देखिन्छ ?

त्यसबेलाको बजार तथा व्यवसाय सानै थियो । किनकी, हामी नयाँ कम्पनी थियौ । तर, हाम्रो व्यवसाय भने दिन प्रति दिन बढ्दै गएको थियो ।

आकस्मीक बीमा कोषले आतंकवाद तथा हुलदंगा सम्बन्धी बीमाको मात्रै पुनर्बीमा गरेको थियो । त्यो भन्दा अरु बीमाको पुनर्बीमा भने त्यसबाट हुने थिएन । कोष नेपाल रि मा रुपान्तरण भएपछि भने हामीले व्यापाक मात्रामा पुनर्बीमा व्यवसाय गर्न थालेका हौं । हामीले पहिलो बर्षदेखि नै फ्याकेल्टीभ र ट्रिटी पुनर्बीमाको व्यवसाय गर्न शुरु गरेका हौं । पहिलो बर्ष नै १२/१३ अर्ब बीमाशुल्क संकलन भएको थियो । अहिले बार्षिक ४० अर्ब भन्दा बढीको व्यवसाय हुन्छ जस्तो लाग्छ ।

यस्तै, हाम्रो व्यवसाय पनि विस्तार हुँदै गएको थियो । त्यसबेला नै हामीले ३० भन्दा बढी मुलुकमा व्यवसाय विस्तार गरिसकेका थियौं । साथै, भारत, भुटान, केन्या, लगायतका मुलुकका पुनर्बीमा कम्पनीसँग पनि हामीले रेट्रोसेशन व्यवसाय आदान प्रदान गरेका थियौं ।

नेपालमा पुनर्बीमा कम्पनी नयाँ अभ्यास थियो, त्यो अवस्थामा स्थापना कालमा कम्पनीले के कस्ता चुनौती सामना गर्न पर्यो ?

नेपालमा पुनर्बीमा ज्ञान तथा कारोबार नयाँ थिएन । किनकी, नेपालका बीमा कम्पनीहरुले विदेशी रि इन्स्योरेन्समा पुनर्बीमा गर्दै आएका थिए । तर, पुनर्बीमा व्यवसाय तथा कम्पनी भने नयाँ नै हो । त्यो अवस्थामा पक्कै पनि चुनौती थिए ।

बिशेषगरि त्यसबेला हामीसँग स्थायी कर्मचारी थिएनन्, सबै करारका मात्रै कर्मचारी थिए । उनीहरुलाई स्थायी बनाउने तथा लोकसेवाबाट कर्मचारी ल्याउन प्रक्रियागत झन्झट थियो । साथै, त्यसबेला हामीसँग दक्ष जनशक्तिको पनि अभाव थियो । त्यसबेला बाहिरबाट मान्छे ल्याएर तालिम गर्नुपर्ने, कर्मचारीलाई नै विदेश पठाएर तालिम लिनुपर्ने बाध्यता थियो । तत्कालिन समयमा हामीले महिना/महिनामै तालिम आयोजना गरिरहेका हुन्थ्यौं । किनकी, हामीसँग दक्ष कर्मचारीको अभाव थियो, भइरहेका कर्मचारीलाई नै दक्ष बनाउनु पर्ने थियो । त्यसरी गरेको तालिमको कारण अहिले कर्मचारीहरुको क्षमता पनि बढेको छ ।

त्यसबेला कम्पनीको भवन बनाउन जग्गा किन्ने, भवन बनाउने लगायतका काम गर्न पनि चुनौती थियो । त्यो क्रममा हामीले काठमाडौंको मिन भवनमा बागमती पुलसँगै जोडिएको ४ रोपनी १० आना जग्गा किन्यौं । भवन पनि बनाउने प्रक्रिया अघि बढेको हो । इन्जीनियरीङ कलेजलाई भवनको नक्सा बनाउन पनि दिएको हो । तत्कालिन समयमा भवनको नक्सा बनाउन सरकारी निकायलाई दिएको भनेर विवाद पनि भयो । निजी क्षेत्रलाई नक्सा बनाउन दिन दवाव पनि आएको थियो । तर, अरु सरकारी निकायहरुले सरकारी इन्जीनियर कलेजबाट नै डिजाइन बनाइरहेका थिए । त्यसपछि हामीले आफ्नो अडान कायमै राखेर इन्जीनियर कलेजबाट नै नक्सा बनायौं । तर, अहिलेसम्म त्यो भवन सम्म बनेको छैन ।

तत्कालिन समयमा विदेशी बीमा कम्पनीहरुको नेपाल रि प्रतिको आर्कषण कस्तो थियो ?

तत्कालिन समयमा नेपाल रि प्रति विदेशी कम्पनीको आर्कषण राम्रै थियो । बिशेषगरि विदेशी कम्पनीहरुले दावी दिन्छ कि दिदैन भनेर नै हेर्ने हो । तर, यस्तो व्यवसायमा अपवादमा बाहेक दावी नदिने जोखिम भने त्यति हुदैन । किनकी, पुनर्बीमा कम्पनीहरुले आफुले बहन गर्न सक्ने जोखिम अनुसारको व्यवसाय राखेर बाँकीको रेट्रोसेसन मार्फत अरु पुनर्बीमालाई दिन्छन् । र, हामीले पनि त्यही गर्ने हो । त्यसमाथि हामी सरकारी स्वामित्वको कम्पनी हौं । त्यो अवस्थामा कम्पनीले दावी नदिएर भाग्ने जोखिम पनि हुदैन ।

साथै, हामीले सबै तिर छरिएको पुनर्बीमा व्यवसायलाई एकीकृत गरेर रेट्रोसेसन मार्फत विदेशी पुनर्बीमा कम्पनीलाई एकमुष्ट रुपमा दिन्थ्यौ । त्यसले गर्दा हामी प्रति विदेशी कम्पनीको सहानुभुति पनि थियो । साथै, हामीलाई केही विदेशी कम्पनीहरुले तालिम दिने, प्राविधिक सहयोग गर्ने काम पनि गरेका थिए । राम्रा राम्रा ब्रोकरहरु पनि आएर तालिम दिने लगायत काम गरेका थिए । विदेशी कम्पनी तथा ब्रोकरले निःशुल्क अप्रत्यक्ष तथा प्रत्यक्ष रुपमा राम्रो सहयोग गरेको हुन् । किनकी, हामी सक्षम भयौं भने त हामीले उनीहरु मार्फत नै कारोबार गर्छाै । त्यसरी अप्रत्यक्ष रुपमा फाइदा उनीहरुलाई पनि हुन्थ्यो ।

तत्कालिन समयमा नेपाल सरकार र बीमा समितिको सहयोग कस्तो रह्यो ?
तत्कालिन समयमा सरकार र बीमा समितिको सहयोग राम्रै भयो । यद्यपि, कतिपय बिषयमा असहयोग हुनु स्वभाविक पनि हो । तर, समम्रमा उनीहरुको सहयोग राम्रो भयो । २० प्रतिशत डाइरेक्सेशनको व्यवस्था गर्नेदेखि कम्पनीको क्षमता अभिबृद्धि गर्ने बिषयमा समिति तथा सरकारको सहयोग रह्यो ।
डाइरेक्सेसन गर्दा बीमा कम्पनीहरुको क्षमता पनि बढेको छ । पहिला उनीहरुले १ अर्बको जोखिम लिन सक्ने थिए भने, अब १ अर्ब २० करोडको जोखिम लिन सक्ने भए । त्यो अवस्थामा डाइरेक्सेसनको व्यवस्था स्वयम बीमा कम्पनीहरुलाई पनि फाइदा हुने खालको थियो ।

तपाईले आफ्नो कार्यकालमा के कस्ता व्यवसायीक रणनीति अपनाउनु भएको थियो ?
त्यसबेला हामीसँग स्थायी तथा दक्ष जनशक्ति थिएनन् । त्यसैले पहिला कर्मचारीलाई स्थायी बनाउने, उनीहरुको क्षमता तथा पुनर्बीमा ज्ञान अभिबृद्धि गर्ने, तालिमहरु गर्ने लगायत काम काम नै गरियो । बीमा कम्पनीहरुको पुनर्बीमा तथा अन्डरराइटीङ बिभागका व्यक्तिहरुलाई ल्याएर तालिम दिने काम पनि गरेउ ।

पुनर्बीमा व्यवसाय गर्न स्वदेशी तथा विदेशी बीमा तथा पुनर्बीमा कम्पनीसँग राम्रो सम्बन्ध हुन्नुपर्छ । त्यसपछि बल्ल व्यवसाय ल्याउन सकिन्छ । तसर्थ, स्वदेशी तथा विदेशी कम्पनीसँग सम्बन्ध राम्रो बनाउने काम समेत गरेउ ।

यस्तै, भवन बनाउन जग्गा किन्ने, भवन नै बनाउने, चुक्तापुँजी बढाउने, सफ्टवेयर बनाउने, क्रेडिट रेटीङ गर्ने लगायतका योजना मेरो थियो । तर, क्रेडिट रेटीङ गर्ने काम भने सफल हुन सकेन । किनकी, देशकै क्रेडिट रेटीङ नभएका कारण कम्पनीको रेटिङ गर्न गाह्रो भयो । गरे पनि रेटीङ राम्रो पाउने सम्भावना थिएन थिएन । हामीले क्रेडिट रेटीङ गर्न एएम बेस्ट एजेन्सी मार्फत प्रक्रिया अघि बढाएका थियौं । तर, त्यो सफल बनाउन सकिएन ।

तत्कालिन समयमा कम्पनीले गरेका सफलताहरु के के हुन ?
बास्तवमा मेरो कार्यकालमा कम्पनीले राम्रो प्रगति गरेको जस्तो लाग्छ । कम्पनीलाई छोटो समयमै स्थापित गर्न सकियो, त्यो नै कम्पनीको मुख्य उपलब्धी हो ।यस्तै, चुक्तापुँजी पनि ५ अर्बबाट बढाएर १० अर्ब पुर्याउने, जग्गा किन्ने काम पनि भयो । साथै, कम्पनीको भवन बनाउने प्रक्रिया पनि अघि बढाएको हो ।

यस्तै, ३० भन्दा बढी देशका ६६ बीमा कम्पनीसँग हामीले व्यवसाय गर्न सफल भएका थियौं । त्यसबेला कम्पनीले नाफा पनि राम्रो कमाएको थियो ।यस्तै, लोकसेवा मार्फत स्थायी कर्मचारी ल्याउने, भारतमा व्यवसाय गर्न त्यहाँको नियमक निकायमा कम्पनीलाई सुचिकृत गर्ने, समयमा बार्षिक साधारण सभा गर्ने, एनएफआरएस अनुसार वित्तिय विवरण बनाउने, आईपीओ निष्काशनको तयारी पुरा गर्ने, सफट्वेयर प्रयागमा ल्याउने बिषयमा मैले काम गरे । समग्रमा मेरो कार्यकालमा भएका उपलब्धी यिनै हुन् । यसमा मेरो मात्र नभएर नेपाल सरकार, बीमा समिति, सञ्चालक समिति तथा समग्र कम्पनी परिवारको पनि ठूलो सहयोग छ ।

तत्कालिन समयमा चाहेर पनि गर्न नसकेको काम केही छन् कि ?

मेरो कार्यकालमा पक्कै पनि केही काम चाहेर पनि गर्न सकिएन, त्यसमा क्रेडिट रेटीङको पनि एक हो । त्यसको लागि प्रक्रिया पनि अघि बढाएको हो । तर, सफल भएन ।
यस्तै, कम्पनीको भवन पनि बनाउन सकिएन । यस्तै, कम्पनीमा अलि अलि सरकारी लिगेसीले गर्दा पनि चुनौती भयो । सरकारबाट बोर्डमा आएका सञ्चालहरुले बीमा नै बुझेका थिएनन् । ५०० रुपैयाँ शुल्कमा करोडौंको जोखिम लिन हुन्न भने तर्क राख्थे । यसरी सञ्चालकहरुले बीमा नबुझ्दा पनि समस्या भएको थियो ।

तपाईले लिएको नीति अहिलेको नेतृत्वले अवलम्बन गरेको देख्नु हुन्छ ?

त्यो देखिन्छ । साथै, कम्पनीले नयाँ नीतिहरु पनि ल्याएर काम गरेको हुन सक्छ, त्यो राम्रो पक्ष हो । तर, विदेशमा व्यवसाय बढाउन नसकेको जस्तो देखिन्छ । अहिले त १०÷१२ ओटा देशमा मात्रै व्यवसाय भएको भन्ने सुनिन्छ । यदि, त्यो सत्य हो भने राम्रो भएन । हाम्रो पालामा ३० भन्दा बढी देशमा व्यवसाय विस्तार भएको थियो । अहिले त्यसको संख्या बढ्ने बेलामा घट्नु राम्रो होइन । यद्यपि, समग्रमा कम्पनीको यात्रा ठिक छ ।

अब नेपाल रिले कसरी काम गर्नुपर्छ ? तपाईको सुझाव के छ ?

कम्पनीको अहिलेसम्मको काम राम्रै छ । अब नेपाल रिले सबै बीमा कम्पनीहरुसँग सहकार्य तथा कोअप्ररेसन गर्नुपर्छ । साथै, विदेशबाट भएपनि दक्ष तथा अनुभवी जनशत्ति ल्याउनुपर्छ, त्यसको लागि सरकारले पनि नीतिगत रुपमा सहयोग गर्नुपर्छ । बास्तवमा अझै पनि नेपालमा दक्ष जनशक्ति पर्याप्त देखिदैनन् । नेपालमा अझै पनि एभीएसन बीमाको पोलिसी बनाउन सक्ने म्यानपावर छैनन् । नयाँ जोखिम अनुमान गर्न सक्ने, हाइड्रो बीमाको पोलिसी बनाउन सक्ने र रिक्स प्रोफाइल बनाउन सक्ने म्यानपावर पनि त्यति देखिदैनन् । तसर्थ, कम्पनीले दक्ष म्यानपावर पुर्ति गर्नुपर्ने बिषयमा काम गर्नुपर्छ ।

साथै, यस्तो व्यवसायमा बीमा कम्पनीहरुसँगको सम्बन्ध पनि राम्रो बनाउनुपर्छ । त्यसपछि बल्ल व्यवसाय ल्याउन सकिन्छ । त्यसैले कम्पनीले स्वदेशी तथा विदेशी बीमा कम्पनीसँग सम्बन्ध राम्रो बनाउने काम गर्नुपर्छ ।

साथै, कम्पनीले स्वदेशी बजार भन्दा पनि विदेशी बजारलाई बढी प्राथमिकता दिनुपर्छ । पुनर्बीमा मार्फत बाहिरीने रकम भन्दा भित्रीने रकम बढी हुने गरि कम्पनीले काम गर्नुपर्छ । त्यो भयो भने नेपाल रि मात्रै होइन, समग्र नेपाली पुनर्बीमा क्षेत्रनै स्थापित हुन्छ ।

नेपाल पुनर्बीमा स्मारिका, २०७९ बाट साभार गरिएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*