ब्याजदर नघट्ने विषयले शेयरबजारमा गिरावट, हाइड्रोपावरको शेयर किनबेच बढ्दा अर्बमाथिको कारोबार

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक बढेपनि कारोबार बन्द हुने समयसम्म आज नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको छ ।
मंसिर महिनामा बैंकहरुको ब्याजदर नघट्ने विषयले पनि शेयरबजार घट्न पुगेको हो । नेपाल बैकर्स संघको कार्यसमितिले मंसिर महिनामा कर्जा तथा निक्षेपको ब्याजदर यथावत नै नराख्ने निर्णय गरेको छ । आम लगानीकर्ताहरु बैंकको ब्याजदर घट्ने प्रतिक्षामा रहेको अवस्थामा ब्याजदर तत्कालै नघट्ने विषयले आजको शेयरबजार एकाएक प्रभावित बन्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज नेप्से सूचक खस्किएपनि कारोबार रकम भने माथि उचालिएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज सर्वाधिक हाइड्रोपावर सूचकको ६ हजार ५६२ टोटल ट्रान्जेक्शन भएको छ ।













