१९ मध्ये चार निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, १५ को बाँकि, कुनले कति दिए ?

५ मंसिर २०७९, सोमबार १५:२३

काठमाडौं । हाल संचालनमा रहेका चार निर्जीवन बीमा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हाल संचालनमा रहेका १९ निर्जिवन बीमा कम्पनीहरुमध्ये चार कम्पनीहरुले लाभांश प्रस्ताव गरिसकेका छन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । ती चार ओटा कम्पनीले गत आव २०७८÷ ७९ सम्मको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापूँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर रहेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा यस कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको छ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले भने यस वर्ष शेयरधनीलाई नगद लाभांशमात्रै दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ९ दशमलव ४८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीले यस वर्ष शेयरधनीलाई  ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्ष कम्पनीले शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यसैगरी युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। यस कम्पनीले शेयरधनीलाई आव २०७२÷ ७३ पछि बल्ल लाभंश दिन लागेको हो ।

सो आवमा कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । ती कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*