तीन महिनामा जीवन बीमा कम्पनीहरुद्धारा १३ अर्ब बीमा दाबी भुक्तानी, ७ कम्पनीको घट्यो (तथ्याङ्कसहित)

१२ मंसिर २०७९, सोमबार १४:४६

काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १३ अर्ब ५८ करोड ५ लाख ८४ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक रिर्पोटअनुसार खुद दावी भुक्तानी गत आर्थिक वर्षको तुलनामा घट्न पुगेको हो । १९ मध्ये ७ कम्पनीको खुद दाबी भुक्तानी घट्न पुगेको छ भने ११ कम्पनीको दावी भुक्तानी बढेको छ ।

गत आर्थिक वर्षको तुलनामा सबैभन्दा दावी भुक्तानी बृद्धिदर हुनेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । गत आवको असोज मसान्तसम्म ३ करोड ७० लाख रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले यस अवधिसम्ममा २१ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन यो ४६८.९३ प्रतिशतले बढी हो । कम्पनीले आफ्नो जीवन बीमा ब्यवसायमा उल्लेख्य विस्तार गरेसँगै दावी भुक्तानी बढ्न पुगेको हो ।

त्यस्तै, सानिमा लाइफले पनि जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै असोज मसान्तसम्ममा १४ करोड ८० लाख रुपैयाँ क्लेम सेटलमेन्ट गरेको छ । कम्पनीले गत आवको तुलनामा २२८.३५ प्रतिशत बढीले दावी भुक्तानी गरेको हो । गत आवको यसै अवधिसम्ममा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

त्यस्तै, सन नेपाल लाइफले पनि उल्लेख्य बीमाशुल्क आर्जनसँगै असोज मसान्तसम्म २४ करोड ३० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । यो गत आवको तुलनामा २२५ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले ७ करोड ४६ लाख रुपैयाँ दावी भुक्तानी गरेको थियो ।
त्यस्तै, रिलायन्स लाइफको ९३.२० प्रतिशत, सूर्या लाइफको ६५.१६ प्रतिशत, सिटिजन लाइफको ६३.०१ प्रतिशत, नेशनल लाइफको ५६.४३ प्रतिशत, ज्योति लाइफको ३९.१७ प्रतिशत, महालक्ष्मी लाइफको ३६.५२ प्रतिशत, आइएमई लाइफको ३२.०७ प्रतिशत, एशियन लाइफको ३०.०२ प्रतिशत र नेपाल लाइफको २.२३ प्रतिशत बढीले दावी भुक्तानी बढेको छ ।

खुद दावी भुक्तानी घट्ने ७ कम्पनी
गत आवको तुलनामा यस आवको पहिलो त्रैमाससम्म सात जीवन बीमा कम्पनीको खुद दावी भुक्तानी घटेको छ । सबैभन्दा प्रतिशतका आधारमा दावी भुक्तानी घट्ने कम्पनीमा गुराँस लाइफ रहेको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्म ६४ करोड ३७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको कम्पनीले यस अवधिसम्म २४ करोड १३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । कम्पनीको ब्यवसाय खुम्चिएसँगै दावी भुक्तानी समेत घट्न पुगेको हो ।

त्यस्तै, दोस्रो दावी भुक्तानी घट्ने कम्पनीको एलआइसी नेपाल रहेको छ । कम्पनीको यस अवधिसम्म ४७.४३ प्रतिशतले दावी भुक्तानी घट्न पुगेको हो । साथै मेट लाइफको ३८.२७ प्रतिशत, रिलायबल नेपाल लाइफको ३६.९२ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १९.५६ प्रतिशत, प्राइम लाइफको ८.५५ प्रतिशत र युनियन लाइफको ०.३१ प्रतिशतले घटेको छ ।

रिर्पोटअनुसार अधिकांश जीवन बीमा कम्पनीहरुको बीमा दाबी भुक्तानी बढेको छ । कम्पनीको बीमा ब्यसायसँगै दावी भुक्तानी पनि बढ्दै जानु स्वभाविक हो । दाबी भुक्तानी गर्न नै जीवन बीमा कम्पनीहरुमा संचालनमा आएका हुन्छन् । बीमितहरुबाट प्रिमियम कलेक्शन गरेर अवधि परिपक्क भएर अर्थात् बीमितको केही कारणले मृत्यु भएको खण्डमा कम्पनीहरुले दावी भुक्तानी गर्नुपर्ने हुन्छ । तर कम्पनीहरुले आफ्नो बीमा कोष तथा जगेडाबाट बीमा दावी भुक्तानी गर्नुपर्ने स्थिति सिर्जना भएमा त्यो कम्पनीको जोखिम बढ्दै गएको बुझ्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*