बीमा कम्पनीहरुको लगानी सम्बन्धी निर्देशिका परिमार्जन, कुन कुन क्षेत्रमा लगानी गर्न पाउछन् ? लगानी गर्न प्राधिकरणको स्वीकृति अनिवार्य

काठमाडौं । बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणले विविध क्षेत्रमा लगानी गर्न निर्देशन दिएपनि कम्पनीहरुले उचित परिपालना नगरेको कारण प्राधिकरणले उक्त निर्देशिका परिमार्जन गरेको छ।
बीमा कम्पनीहरुको अधिंकाश रकम राष्ट्र बैंकको इजाजत प्राप्त क, ख, ग बैंकहरुको मुद्धती निक्षेपमा हुने गरेको छ । बीमा कम्पनीहरुले जोखिमको बीमा गरेको हुँदा रकम कुन अवस्थामा चाहिन्छ भन्ने एकिन नभएको कारण बैंकहरुको मुद्धती निक्षेपलाई नै मुख्य स्रोत बनाएको बीमा अधिकारीहरु बताँउछन् ।
केही बाँकि रहेको जोखिम रहित रकम मात्रै लगानी योग्य क्षेत्रमा लगाउन सकिने भएको कारण बीमा कम्पनीहरुको म्ुख्य आकर्षकको केन्द्रिविन्दु बैंकहरु बनेको छ।प्राधिकरणले बीमा क्षेत्रलाई व्यवस्थित तरिकाबाट लगानी गर्न ल्याएको लगानी निर्देशिकाको उचित प्रयोग नभएको कारण उक्त निर्देशिका परिमार्जन गरेको हो ।
प्राधिकरणका अनुसार पुरानो निर्देशिका परिमार्जन गरेपश्चात् बीमा कम्पनीहरुलाई सहज हुने धारणा रहेको छ ।जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले विभिन्न ११ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमकको लगानी निर्देशिका जारी गर्दै कम्पनीहरुले लगानी गर्नुपर्ने क्षेत्र र सीमा निर्धारण गरिदिएको हो।
उक्त निर्देशिका अनुसार अब जीवन बीमा कम्पनीहरुले आफ्नो कूल लगानीको न्यूनतम ५ देखि अधिकतम ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । लगानी गर्न पाउने ११ क्षेत्रमध्ये दुई क्षेत्रमा सबैभन्दा बढी अर्थात अधिकांश ३० प्रतिशतसम्म लगानी गर्न पाइने प्राधिकरणले जनाएको छ ।
बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा आफ्नो लगानीको बढीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । तर, कुनै पनि संस्थाको सेयर, बन्ड, ऋणपत्रमा लगानी गर्दा कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन ।
त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यो सीमाअनुसार लगानी गर्न नसक्ने अवस्था आएमा वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गर्नुपर्ने व्यवस्था छ ।
नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनियम बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने छ । तर उक्त कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी भने लगानी गर्न पाइने छैन ।
त्यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, सूचीकृत कम्पनीको साधारण सेयर, घरजग्गा, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यीमध्ये घरजग्गामा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक मूल्यांकन गर्नुपर्ने छ ।त्यसैगरी, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, नागरिक लगानी कोष तथा म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था छ ।
बीमा कम्पनीहरुले बीमा प्राधिकरणले तोकिदिएको लगानी सीमा प्रत्येक दिन कायम गर्नुपर्ने छ । यदि कुनै कारणले तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा सीमा नाघेको तीस कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नु पर्ने प्राधिकरणको निर्देशन छ । तर मुद्दति निक्षेप वा डिबेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशन बमोजिम भएको मानिने समेत प्राधिकरणले खुलाएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीन वटा शर्त पालना गर्नुपर्ने छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्कृय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारवाहीमा नपरेको हुनुपर्ने छ ।
निर्जीवन बीमा कम्पनीहरुले प्राधिकरणले तेकोको विभिन्न ११ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमकको लगानी निर्देशिका जारी गर्दै कम्पनीहरुले लगानी गर्नुपर्ने क्षेत्र र सीमा तोकिदिएको हो ।प्राधिकरणले यसअघिको बीमकको लगानी निर्देशिकालाई संशोधन गर्दै नयाँ निर्देशिका जारी गरेको हो । जसअनुसार कम्पनीहरुले आफ्नो लगानीको न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ३० प्रतिशतसम्म विभिन्न क्षेत्रमा लगानी गर्न पाउने छन् ।
प्राधिकरणका अनुसार कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र, वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्दति निक्षेप, घरजग्गा, सूचीकृत कम्पनीको साधारण सेयर तथा डिबेन्चर, कृषि, पर्यटन तथा पूर्वाधार, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, इन्भेष्टमेन्ट कम्पनीको सेयर, नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरु लगायतका क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । जसमध्ये कम्पनीहरुले सबैभन्दा बढी वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकका मुद्दति निक्षेपमा लगानी गर्न पाउने छन् । यो क्षेत्रमा उनीहरुले कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने भएका हुन् ।
बीमा कम्पनीहरुले बीमा प्राधिकरणले तोकिदिएको लगानी सीमा प्रत्येक दिन कायम गर्नुपर्ने छ । यदि कुनै कारणले तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा सीमा नाघेको तीस कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नु पर्ने प्राधिकरणको निर्देशन छ । तर मुद्दति निक्षेप वा डिबेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशन बमोजिम भएको मानिने समेत प्राधिकरणले खुलाएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीन वटा शर्त पालना गर्नुपर्ने छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्कृय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारवाहीमा नपरेको हुनुपर्ने छ ।
कम्पनीहरुले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नु अघि भने बीमा प्राधिकरणको स्वीकृति लिनु पर्ने छ । यी क्षेत्रमा कम्पनीहरुले कूल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । तर एउटै परियोजनामा कूल लगानीको ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था छ ।











