विन्दबासिनी गाउँपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, भाडामा कृषिबाली लगाउनेले नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह

२७ पुष २०७९, बुधबार ११:१४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिकामा बीमा सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको मधेश प्रदेश कार्यालयको आयोजनामा गत आइतबार सम्पन्न भएको उक्त कार्यक्रममा भाडामा कृषिबाली लगाउनेले नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह गरिएको थियो ।

बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागीहरुले जग्गाधनी एक व्यक्ति र जग्गा भाडामा लिएर खेती गर्ने अर्को व्यक्ति भएको अवस्थामा कृषि बीमा दाबी जग्गाधनीले नभई कृषिबाली लगाउने व्यक्तिले नै पाउने व्यवस्था गर्न माग गरेका छन् ।

सरकारी निकायमा धानको बीऊ सूचिकृत नभएको सोना मनसुली धानको पनि बीमा गर्न पाउने व्यवस्था गर्न, कृषि प्राविधिकहरु सहजरुपमा उपलब्ध हुने व्यवस्था गर्न र कृषकहरुलाई गाउँ गाउँमा नै बीमा सम्बन्धी जानकारी दिने व्यवस्था गर्न आग्रह गरेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले गाउँ गाउँमा गएर सबैलाई बीमाका बारेमा जानकारी दिने दायित्व निर्वाचित जनप्रतिनिधिहरुको भएको बताएका छन् । बीमा गरेपछि हानी नोक्सानी भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति प्राप्त हुने र त्यसबाट आर्थिक अभाव पुरा गर्न सहयोग पुग्ने भएकाले सबैलाई बीमा गर्न तिवारीले आग्रह गरे ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी कार्यक्रम तर्जूमा र बीमा सचेतनामूलक कार्यक्रम संचालनमा गाउँपालिकालाई आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको बताइन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेले कार्यक्रम संचालन गरेका थिए । अर्का सहायक निर्देशक अनिश तिमिल्सिनाले स्वागत गरेकोे कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य तथा कर्मचारी, बीमा कम्पनीका शाखा कार्यालय र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, महिला समूहका पदाधिकारी, कृषक लगायत गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*