माघ महिनामा पाँच बीमा कम्पनीको साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?

६ माघ २०७९, शुक्रबार १६:३९

काठमाडौं । माघ महिनामा पाँच बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये ३ निर्जिवन बीमा कम्पनी र दुई जीवन बीमा कम्पनी रहेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्दैछ । जसमध्ये ४ बीमा कम्पनीले साधारण सभामा लाभांश प्रस्ताव गरेका छन् भने सिटिजन लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन प्रस्ताव राखेको छ ।

आइएमई जनरल इन्स्योरेन्स
लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा यहि माघ ९ गते बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब ७० करोड रुपैयाँ छ । बोनस शेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजी बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा ऐन २०७९, अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समय सापेक्ष संशोधन गर्ने जस्ता पारित गर्ने छ ।

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तिरायारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा सभामा गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव गरिनेछ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक नियु क्त गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष ३ गते बुकक्लोजको मिति तोकको थियो ।यसर्थ सो प्रस्तावित लाभांश पाउन पुष २ गतेसम्म कायम रहनुपर्नेमा आज सार्वजनिक विदा हरेकाले पुष २८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभो माघ १५ गते बस्दैछ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे हुनेछ ।

सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक चयन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ माघ २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा माघ ३ गते बस्दैछ । नेपालकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनीले आव २०७८।७९ को बार्षिक साधारणसभामार्फत १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव सहित साधारणसभाको मिति तय गरेको हो ।

कम्पनीको यही माघ ३ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार आगामी माघ २५ गते कम्नपीको केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि प्रस्ताव समेत पास गर्नेछ । त्यस्तै, बार्षिक साधारणसभाले आव २०७८।०७९ को लेखा परिक्षण प्रतिवेदनसहितको बार्षिक वित्तीय विवरण पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी दिने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १७ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटिजन लाइफ इन्स्योरेन्स
साधारण शेयर (आइपीओ) निष्काशन प्रस्तावसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा माघ १५ गते बस्दैछ । कम्पनीको पाँचौ सभा अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे बस्नेछ ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर (आइपीओ)निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै अघिल्लो आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै गत आव २०७८।७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्सलाई गरिएको नियुत्तिको अनुमोदन गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

युनियन लाइफ इन्स्योरेन्स
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँचौ वार्षिक साधारण सभा माघ २६ गते बस्नेगरी बोलाएको हो ।

सभा, टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले कम्पनीले सेयरधनीलाई ८.९७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीको सेयर संरचना ५१% संस्थापक र ४९% सर्वसाधारण समूहतर्फ परिवर्तन गरी संस्थापक र सर्वसाधारण सेयर अनुपात ५१ः४९% कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ । हाल यस इन्स्योरेन्सको उक्त सेयर अनुपात ७०ः३० रहेको छ ।

सभाले गुँरास र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गर्ने भएको छ । माघ १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यो इन्सुरेन्स मर्जर प्रक्रियामा रहेकाले हाल यसको सेयर कारोबार रोक्का रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*