हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको खुद नाफा २६ प्रतिशतले बढ्यो, इपीएस कति ?

७ माघ २०७९, शनिबार १३:०८

काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत आवको तुलनामा बढ्न पुगेको हो ।

बैंकले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३७.४२ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २८.५० प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ करोडबाट बढेर ४५ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ३८ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष २४.१५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप ०.२३ प्रतिशत बढेको छ भने कर्जा १.२७ प्रतिशत बढेको छ। सिभिल बैंक हिमालयन बैंकसँग गाभिन लागेको छ । यी दुवै बैंकबीच मर्जर सम्झौता भई एकीकृत कारोबारको लागि मिति जुराउने तयारीमा रहेका छन् । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति आउन बाँकी छ । बैंकका अनुसार माघ महिनाभित्रै यी दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*