महुली लघुवित्त र ग्लोबल आईएमई लघुवित्तको किस्ता तिर्न नसकेपछि सप्तरीका रामदेवले गरे आत्महत्या

१२ माघ २०७९, बिहीबार २१:४५

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरुले आम नागरिकमा फैलाएको आतंकको विरुद्धमा देशव्यापी अभियान नै चलिरहेको छ । त्यही बीचमा देशको आर्थिक अवस्था र शासकीय संरचनाका कारण अघि बढ्न नसकेको भन्दै ३७ बर्षिय प्रेम प्रसाद आचार्यले प्रधानमन्त्री प्रचण्डकै अगाडि आत्मदाह गरेको ४८ घण्टा बित्न नपाउँदै सप्तरीमा अर्को दुःखद घट्ना भएको समाचार बाहिर आएको छ । संयोग कस्तो परेको रहेछ भने प्रेम प्रसाद र सप्तरीका डोम समुदायका ४५ बर्षिय नागरिकले पाँच हजार रुपैयाँको अभावमा आत्म हत्या गरेका छन् ।

बैंक, बीमा कम्पनीहरु तथा लघु वित्त कम्पनीहरुले दिएको प्रताडनाको कारण यतिबेला सिंगो देश आतंकति छ । जनता शहरमा जीउदै आफ्नै शरीरमा आगो लगाउन थालिसकेका छन् । यसै सन्दर्भमा आज सप्तरीमा महुली लघुवित्त र ग्लोबल आईएम लघुवित्त वित्तीय संस्थाबाट लिएको जम्मा एक लाख ७५ हजार रुपैयाँ मध्ये नौ हजार रुपैयाँ किस्ता तिर्न नसकेपछि आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।

सप्तरी जिल्लाका छिन्नमस्ता गाउँपालिका घर भएका रामदेव मरिक ४५ बर्षिय डोम जातिका नागरिक हुन् । उनले आफ्नो छोराको विहे गर्न गत वर्ष लिएको ऋण मध्ये महुली लघुवित्त वित्तीय संस्थाको जम्मा चार हजार रुपैयाँ जति तिर्न बाँकी थियो भने ग्लोबल आईएमई लघुवित्तको ४५ हजार रुपैयाँ जति ऋण तिर्न बाँकी थियो । अघिल्लो महिना महुली लघुवित्तका कर्मचारीहरुको चर्को दवाव, गाली र धम्कीपछि बल्ल तल्ल किस्ता तिरेका उनले यस पटक माघ ९ गते ग्लोबल आइएमई लघुवित्तको पाँच हजार रुपैयाँ किस्ता तिर्ने पालो थियो । तर, ९ गतेदेखि पाँच हजार रुपैयाँको खोजीमा रहेको रामदेव मरिक डोमले कतैबाट पनि उक्त रकम जोहो गर्न नसकेपछि यही माघ १० गते विहान आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले रामदेव मरिकको शव १० गते विहान ६ बजे घरदेखि २०० मिटर पर आँपको रुपमा झुण्डिएको अवस्थामा फेला परेको पुष्टि गरेको छ । मृतकका छोरा राज कुमार मरिकले बुवाले लघुवित्तबाट आफ्नो विहेको लागि ल्याएको ऋण तिर्न नसक्दा आत्महत्या गरेको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमा उनको मृत्युको विषय समेत आज दिउँसोबाट चर्को रुपमा उठिरहेको छ र आत्महत्या गर्न बाध्य पार्ने महुली लघुवित्त र ग्लोबल आइएमई लघुवित्तका कर्मचारीविरुद्धमा आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन माग भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*