बीमा क्षेत्रमा मर्जर र आर्थिक मन्दीको प्रभाव, उत्साहजन देखिएन दोस्रो त्रैमास

१९ माघ २०७९, बिहीबार १०:४६

काठमाडौं । बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अवधिमा झण्डै एक खर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालमा रहेका बीमा कम्पनीहरुले ९१ अर्ब ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

बीमा प्राधिकरणले प्रकाशन गरेको अपरिस्कृत तथ्यांक अनुुसार यस त्रैमाससम्ममा गत अािर्थक बर्षको तुलनामा जीवन बीमा कम्पनीको वृद्धिदर १.०४ प्रतिशत रहेको छ । जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा ७१ अर्ब ५ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७० अर्ब ९१ करोड ३९ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थियो ।

त्यस्तै, निर्जीवन बीमातर्फको बीमा व्यवसाय ५.०५ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ६ महिनासम्ममा कुल २० अर्ब ८ करोड २५ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । गत वर्षको सोही अवधीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । आर्थिक मन्दीको कारण बीमा व्यवसाय सोचे अनुरुप बढ्न नसकेको बीमा क्षेत्रका जानकारहरु बताँउछन् ।

विगतका वर्षहरुमा ४५ प्रतिशतसम्म वृद्धिदर हुने गरेको बीमा कम्पनीहरुको वृद्धिदर ५ प्रतिशतमा गिरावट आउनुले बीमा क्षेत्रमा मर्जर आर्थिक मन्दीको असर देखिएको रुपमा हेरिएको छ । समग्र अर्थतन्त्र अस्थिर हुँदा यस्को प्रत्यक्ष असर बीमा क्षेत्रमा पनि परेको छ ।

मर्जरको कारण कर्मचारी समायोजन, शाखा विस्तार र व्यवस्थापनको प्रभावको कारणमा बीमा व्यवसायमा यसले प्रत्यक्ष असर पारेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा अटोमोबाईलको नै ठूलो हिस्सा रहेको छ । त्यसमा राष्ट्र बैंकले लगाएको लगामको कारण निर्जीवन बीमा व्यवसायमा असर परेको बीमक संघको धारणा छ ।

लामो समयपछि राष्ट्र बैंकले अटो व्यवसायिहरुको माग सम्बोधन गर्दै केही सहज गरिदिएसँगै निर्जिवन बीमा बजारमा केही सुधार आउने बीमा अधिकारीहरुको अपेक्षा गरेरका छन् । कूल निर्जीवन बीमाको ठूलो हिस्सा अटोले लिँदै आएको छ ।

बैंक तथा वित्तिय संस्थाको अवस्था पनि पछिल्लो समय धरासायी बन्दै गएको छ । अधिंकाश बैंक तथा वित्तिय संस्थाले घरजग्गा धितो राखेर कर्जा असुलीको लागि लागि परेका छन् । नयाँ कर्जा प्रवाह नभएकोले पनि घर तथा सवारी साधनबाट प्राप्त हुने बीमा शुल्क घटेको छ ।

बैंकहरुले समयमा कर्जा तथा साँवा असुल गर्न धितो लिलाम बिक्रि गर्न थालेपछि भएका बीमा पनि नकिवरण हुने अवस्थामा पुगेका छन् ।
‘अस्थिर बजारको कारण स्वभाविक रुपमा ऋणीहरुमाथि दवाव पर्ने बैंक तथा वित्तीय संस्था जवर्जस्ती असुलीमा जाने र जसको असर स्वरूप धितो मूल्याङ्कनमा झनै दवाव पर्न गइरहेको एसोसिएसनलाई महसुस भएको छ,’ एसोसिएसनले जनाएको छ । बीमा क्षेत्रमा पनि यस्तो प्रत्य्रक्ष असर पर्ने देखिएको छ ।

यस त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा पनि खासै उत्साह देखिएको छैन । पुराना कम्पनीहरुको अवस्था कमजोर बन्दै गएको छ भने नयाँ कम्पनीहरुले प्रगति गर्न सफल भएका छन् ।
पुस मसान्तसम्मको तथ्यांक अनुसार गत आर्थिक बर्षको तुलनामा १५ कम्पनीको बीमा व्यवसायमा गिरावट आएको छ । जीवन बीमा तर्फ ९ र निर्जीवन बीमातर्फ ६ बीमा कम्पनीहरुको बीमा व्यवसायमा गिरावट आएको छ ।

निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रिमियम इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स बीमा व्यवसायमा गिरावट आएको छ ।
त्यस्तै, जीवन बीमातर्फ एशियन लाइफ, सूर्या ज्योति लाइफ, प्रभु लाइफ, सन नेपाल लाइफ, मेट लाइफ, प्राइम लाइफ, युनियन लाइफ, गुराँस लाइफ र रिलायबल नेपाल लाइफको बीमा व्यवास गत आर्थिक बर्षको तुलनामा घटेको छ ।

वृद्धिदरको आधारमा भने जीवन बीमा कम्पनीहरु अग्रस्थानमा रहेको छ । त्यस्तै, वृद्धिदरतर्पm निर्जिवन बीमातर्फ निजगढदेखि काठमाडौं जोड्ने फास्ट ट्याकको बीमा सरकारी स्वामित्वमा रहेको कारण राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा रहेको छ ।
त्यस्तै, दोस्रो त्रैमासम्ममा सर्वाधिक कारोबार गर्नेमा जीवन बीमातर्फ नेपाल लाइफ नै रहेको छ भने निर्जिवन बीमतर्फ शिखर इन्स्योरेन्स कम्पनी नै अग्रस्थानमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*