दोस्रो त्रैमासमा नेपाल लाइफको उत्साहप्रद प्रगति, डेढ खर्बको जीवन बीमा कोष, मुनाफा आकासियो

२२ माघ २०७९, आईतवार ०८:५६

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासमा उत्साहप्रद प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा सर्वाधिक डेढ खर्ब रुपैयाँ संचिती गर्न सफल भएको छ भने मुनाफामा भारी बृद्धि गर्दै आफूलाई उत्कृष्ट कम्पनीको रुपमा अघि बढाउन सफल भएको छ ।
नेपाल लाइफ इन्योरेन्स कम्पनीले जीवन बीमा कोषमा एक खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार ८११ रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको जीवन बीमा कोष २०.८४ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा कम्पनीको जीवन बीमा कोषमा एक खर्ब २४ अर्ब रुपैयाँ थियो ।

कम्पनीको जगेडा कोष ९५ प्रतिशतले घटेको छ । जगेडा कोष भनेकै झिक्ने र भण्डारण गर्ने कोष भएकोले जगेडा कोष घट्नु र बढ्नु सामान्य कुरा हो । त्यस्तै, महाविपत्ती कोष १९.२१ प्रतिशतले बृद्धि भई ८३ करोड ३६ पुगेको छ । समग्र कोषको आकार १५१ अर्ब ७७ करोड पाँच लाख ८१ हजार २५१ रुपैयाँ पुगेको छ ।

 

चरम आर्थिक संकटपूर्ण अवस्थाका बीचमा कम्पनीको मुनाफा २३७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा पहिलो पटक फ्युचर बोनसका लागि प्रोभिजनिङ गरेर घटेको मुनाफा कम्पनीले यस वर्ष रिकभर गरी चालु आवको दोस्रो त्रैमासिक अवधीमा ४४ करोड एक लाख ६० हजार ६४० रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवमा कम्पनीले जम्मा १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नेपाल लाइफको व्यवस्थापकले कुशलतापूर्वक लगानी व्यवस्थापन गरेकोले कम्पनीको लगानी, कर्जा लगानी, बीमालेख धितोमा लगानी बापतको रकम बृद्धि हुँदा मुनाफा ह्वात्तै बढेको छ । सबैभन्दा ठूलो कोष भएको नेपाल लाइफले प्रभावकारी परिचालन गर्दा उत्कृष्ट नतिजा देखिएको आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ ।

कम्पनीले गत आवमा पाँच अर्ब ९७ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेकोमा चालुआवको समीक्षा अवधीमा आठ अर्ब २६ करोड ६९ लाख ७७ हजार ७९२ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्यस्तै कम्पनीको व्यवस्थापन खर्च सामान्य अंकले बृद्धि भई ५३ करोडबाट बढेर ६० करोड पुगेको छ ।

नेपाल लाइफले आफ्ना अभिकर्ताहरुलाई दिने कमिशनमा सामान्य अंकले गिरावट आएको छ । गत आवको यसै अवधीमा एक अर्ब ८४ करोड रुपैयाँ कमिशन बापत वितरण गरेको कम्पनीले चालु आवको छ महिने अवधीमा एक अर्ब ५३ करोड रुपैयाँ मात्रै आफ्ना अभिकर्ताहरुलाई कमिशन बापत वितरण गरेको छ ।

कम्पनीको बीमा पोलिसी संख्या भने घटेको छ । गत आवका १३ लाख ८६ हजार वटा बीमा पोलिसी कायम रहेकोमा चालु आवको छ महिनसम्ममा जम्मा ११ लाख ८५ हजार वटा बीमा पोलिसी कायम रहेका छन् ।
कम्पनीको व्यवसाय भने सामान्य अंकले बृद्धि भएको छ । गत आवको तुलनामा यस आवको समीक्षा अवधीमा १.६ प्रतिशतले मात्रै व्यवसाय बृद्धि भएको छ । देशमा उत्पन्न भएको आर्थिक संकटको असर बीमा क्षेत्रमा परेको प्रभावको रुपमा लिन सकिन्छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.७३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११६.०१ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २०१२ रुपैयाँ रहेको छ । समग्रमा देशको आर्थिक अवस्था अनुसार नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल भएको वित्तीय विवरणले झल्काएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*