नेशनल लाइफको खुद नाफा ५७ प्रतिशतले बृद्धि, ५६ अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?

२७ माघ २०७९, शुक्रबार ०८:२९

काठमाडौं । नेशनल लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमास अवधीमा मुनाफा, जीवन बीमा कोष र व्यवसाय सबै सूचांकमा उल्लेख्य प्रगति गर्दै देशकै उत्कृष्ट कम्पनी बन्ने अभियानमा अघि बढेको देखिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार ५६ अर्ब १५ करोड नाघेको छ । आवमा कम्पनीको जम्मा ४७ अर्ब रुपैयाँ जीवन बीमा कोषमा संचिती थियो । कम्पनीको जीवन बीमा कोषको आकार १८.९५ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीको जगेडा कोष ७४ प्रतिशतले घटेको छ । गत आवमा एक अर्ब १२ करोड रुपैयाँ संचिती रहेको जगेडा कोषमा यस आवमा आउँदा २६ करोड ६५ लाखमा सीमित भएको छ । कम्पनीको समग्र कोषको आकार १७ प्रतिशतले बृद्धि भई ५६ अर्ब ७९ करोड पुगेको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा महत्वपूर्ण हुन्छ ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी ११ प्रतिशतले बृद्धि भई छ अर्ब ७९ करोडबाट बढेर सात अर्ब ५३ करोड नाघेको छ । त्यस्तै, खुद बीमा दावी भुक्तानी ४४.८४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा दुई अर्ब ५६ करोड दावी भुक्तानी गरेको कम्पनीले चालु आवको छ महिनामा तीन अर्ब ७२ करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले कर्जा, लगानी, अन्य आम्दानी तथा बीमालेख धितोमा आम्दानीमा समेत २६ प्रतिशतले बृद्धि भई दुई अर्ब १९ करोडबाट बढेर दुई अर्ब ७७ करोड माथि पुगेको छ । कम्पनीको व्यवस्थापन खर्च १२ प्रतिशतले घटेको छ । गत आवको यसै अवधीमा ५७ करोड खर्च गरेको कम्पनीले चालु आवमा ५० करोडमा सीमित गर्न सफल हुनुले कम्पनीको व्यवस्थापन मितव्ययी र चुस्तदुरुस्त हुन खोजेको देखिएको छ ।

कम्पनीले आफना बीमा अभिकर्तालाई वितरण गर्ने कमिशन रकम दुई प्रतिशतले घटेर ७५ करोडबाट ७३ करोडमा झरेको छ । हालसम्म कायम बीमा पोलिसी संख्या १० लाखबाट बढेर १७ लाख पुगेको छ ।

कम्पनीको खुद नाफामा उल्लेख्य सुधार भई ५७ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा जम्मा १४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधीमा २२ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८.९० रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३.७६ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४०७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*