दोस्रो त्रैमासमा रिलायन्स लाइफको उत्कृष्ट प्रगति, सबै सूचांकमा सुधार

२८ माघ २०७९, शनिबार २३:०२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो आर्थिक वर्षको अवधीमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । सानिमा लाइफसँग मर्जरको अन्तिम अवस्थामा रहेको रिलायन्स लाइफले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, आम्दानी तथा खुद नाफा सबै सूचांकमा उत्साहप्रद प्रगति गर्न सफल भएको छ ।

कम्पनीको जीवन बीमा कोषमा चार अर्ब २५ करोड ३३ लाख ४९ लाख रुपैयाँ संचिती छ । गत आवको यसै अवधीको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २६.२४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै जगेडा कोष १२० प्रतिशतले बृद्धि हुँदा समग्र कोषको आकार३१ प्रतिशतले बृद्धि भई चार अर्ब ७० करोड नाघेको छ । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा महत्वपूर्ण हुन्छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी औषत नै रहेपनि कम्पनीको व्यवस्थापन टिमले उत्कृष्ट प्रदर्शन गर्दै लगानी, कर्जा तथा बीमालेख धितोमा प्राप्त आम्दानी ४१.७८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । रोचक कुरा त के छ भने कम्पनीको व्यवस्थापन खर्च १३ प्रतिशतले घटेको छ । त्यस्तै अभिकर्ताले पाउने कमिशन पनि २२ प्रतिशतले घटेको छ ।

समग्र आम्दानी बृद्धि अनि खर्च कटौतिको रणनीतिको परिणाम कम्पनीको मुनाफामा १२० प्रतिशतले उत्कृष्ट बृद्धि गर्न सफल भएको छ । गत आवको यसै अवधीमा जम्मा सात करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा १६ करोड ६७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि बीमाङ्कीय मूल्याङ्कनको क्रममा खुद बीमा कम्पनीहरुको खुद नाफा हेरफेर हुनसक्नेछ ।

त्यस्तै कम्पनीको हालकायम बीमा पोलिसी संख्या उच्च अंकले बृद्धि भई एक लाख ६९ हजार ६०० बाट बढेर चार लाख ७३ हजार ३८६ वटा पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५.८८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२१.७२ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३२४.२६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*