आईएमई लाइफको वित्तीय विवरणका सबै सूचांकमा प्रगति, साढे पाँच अर्बको जीवन बीमा कोष, मुनाफा ५० प्रतिशतले बृद्धि

२९ माघ २०७९, आईतवार ०५:०६

काठमाडौं । आईएमई लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफूलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । जीवन बीमा कोषको आकार उच्च अंकले बृद्धि हुनु, मुनाफामा फराकिलो बृद्धि हासिल गर्नु जस्ता तथ्याङ्कले कम्पनीको प्रगति झल्किएको छ ।

आईएमई लाइफले स्थापनाको छोटो अवधीमा नै पाँच अर्ब ४७ करोड ९४ लाख सात हजार रुपैयाँको शक्तिशाली जीवन कोष खडा गर्न सफल भएको छ । गत आवको यसै अवधीमा तीन अर्ब ८७ करोड रुपैयाँको कोष रहेको कम्पनीमा यसआवको समीक्षा अवधीसम्म आइपुग्दा जगेडा कोषमा एक अर्ब चार करोड रुपैयाँ संचिती गर्न सफल भएको छ । महाविपत्ति कोष समेत गरी कूल छ अर्ब ६३ करोड ७४ लाख ४० हजार रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको हो । कम्पनीको समग्र कोषको आकार ४७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको बलियोपना जीवन बीमा कोषको आकार र बृद्धिको आधारमा मापन गरिन्छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी १७ प्रतिशतले बृद्धि भई एक अर्ब ८६ करोड ९५ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ । गत आवको यसै अवधीमा कम्पनीले एक अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको खुद दावी भुक्तानी केही बढेको देखिएको छ । नयाँ कम्पनी भएकोले सुरुमा दावी नहुने र विस्तारै दावी पर्न थालेपछि बृद्धि भएको देखिएको हो ।

कम्पनीको लगानी, कर्जा तथा बीमालेख धितोमा कर्जाबाट प्राप्त आम्दानी १८ प्रतिशतले बृद्धि भई ३१ करोडबाट बढेर ३७ करोड पाँच लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । स्रोत परिचालनबाट हुने आम्दानी उच्च अंकले बृद्धि हुनु र व्यवस्थापन खर्च औषत रहनुले कम्पनीमा कुशल व्यवस्थापन रहेको तथ्य उजागर गरेको छ । कम्पनीको व्यवस्थापन खर्च गत आवकै बराबर २५ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमा अभिकर्तालाई दिने कमिशन रकममा २० प्रतिशतले कमी आएको छ ।

आईएमई लाइफको खुद नाफा सात करोडबाट ५०.९७ प्रतिशतले बृद्धि भई ११ करोड ७६ लाख पुग्न सफल भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ । आम्दानी र व्यवसाय दुवैमा आएको बृद्धिका कारण कमपनीको मुनाफामा बृद्धि भएको हो । कम्पनीको व्यवसाय बृद्धि अन्य कम्पनीहरुको तुलनामा सबैभन्दा धेरै हो ।

कम्पनीको हाल कायम पोलिसी संख्या ५५ प्रतिशतले बृद्धि भई दुई लाख १५ हजारबाट बढेर तीन लाख ३३ हजार वटा पोलिसी हाल कायम रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८.४१ रुपैयाँ रहेको छ । प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३३७.०५ रहेको छ । कम्पनीको चुक्ता पुँजि बृद्धि गरी दुई अर्ब ६२ करोड ५० लाख पुगिसकेको छ । गत आवमा कम्पनीको चुक्ता पुँजि एक अर्ब ७५ करोड रुपैयाँ थियो । बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजि पुर्याउन कम्पनीले पुँजि थप गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*