३४ अर्बको विशाल कोष बनाउँदै अघि बढ्यो एशियन लाइफ, खुद बीमा शुल्क घट्यो मुनाफा बढ्यो

२९ माघ २०७९, आईतवार ०५:२६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोष १८ प्रतिशतले बृद्धि गर्दै ३४ अर्बको विशाल कोष खडा गर्न सफल भएको छ । कम्पनी आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिकि वित्तीय विवरण अनुसार ३४ अर्ब ८० करोड ९९ लाख १५ हजार ७०० रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीको समग्र कोषको आकार ३५ अर्ब ५० करोड नाघेको छ । जीवन बीमा कम्पनीहरुका लागि बीमा कोष सबैभन्दा महत्वपूर्ण हुन्छ ।

कम्पनीले चालु आवको छ महिने अवधीमा खुद बीमा शुल्क आम्दानीमा भने ह्रास आएको छ । गत आवको यसै अवधीमा तीन अर्ब ३९ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गर्न सफल भएकोमा यस आवको समीक्षा अवधीमा तीन अर्ब २६ करोड मात्रै बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीको खुद दावी भुक्तानी भने बृद्धि भएको छ । गत आवको छ महिने अवधीमा खुद दावी भुक्तानी ७६ करोड ८४ लाख ९१ हजार रुपैयाँ भुक्तानी गरेको कम्पनीले चालु आवको छ महिनामा ९२ करोड ४५ लाख ८६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च उच्च अंकले घटाउन सफल भएको छ । गत आवमा २७ करोड २० लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको छ महिनामा २४ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ ।

सञ्चालन खर्च घटाएको र स्रोत परिचालनबाट आम्दानी बढाएको कारण एशियन लाइफको मुनाफा उच्च अंकले बृद्धि भएको छ । गत आवको यसै अवधीमा जम्मा १४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा १९ करोड १२ लाख ७९ हजार ६९४ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

त्यस्तै, कर्जा लगानी तथा अन्य आय र बीमालेख धितो कर्जामा आय रकममा उच्च अंकको बृद्धि भएको छ । कम्पनीले आफ्ना अभिकर्तालाई वितरण गर्ने कमिशन ४३ करोडबाट घटेर ३५ करोडमा सीमित भएको छ । कम्पनीले समीक्षा अवधीमा तीन अर्ब २१ करोड रुपैयाँ जीवन बीमा कोषमा थप गर्न सफल भएको वित्तीय विवरणले औल्याएको छ ।

कम्पनीमा हालसम्म कायम बीमा पोलिसी संख्या छ लाख सात हजार ८४ वटा रहेको छ । गत आवमा कम्पनीसँग तीन लाख ४५ हजार १८९ वटा बीमा पोलिसी रहेको थियो । समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी १३.१५ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४०८.१६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४.३४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*