शेयरबजारमा भारी गिरावट, राष्ट्र बैंकको कसिलो नीतिले लघुवित्तको शेयरमूल्यमा उच्च ह्रास

११ फाल्गुन २०७९, बिहीबार १५:२०

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै लघुवित्त संस्थाहरुमा कडाई गरेसँगै आजको शेयबजारमा भारि गिरावट आएको हो ।

नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५२ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । अघिल्ला दिनहरुको तुलनामा आज कारोबार रकम भने बढ्न पुगेको छ । लगानीकर्ताहरुले शेयरमूल्य घट्दा भटाभट शेयर खरिद गरेका कारण पनि आजको कारोबार थोरै बढ्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरुलाई कडाई गरेका कारण आजको मार्केटमा उच्च गिरावट आएको हो । लघुवित्त संस्थाहरुले २० प्रतिशतभन्दा बढी बोनस शेयर वितरण गर्न नपाउने प्रावधान लागू भएपश्चात् लगानीकर्ताहरुले आफुसँग भएको शेयर धमाधम बेच्न थालेका हुन् ।

साथै नेप्सेमा रहेका १३ वटै इन्डेक्समा आज पहिरो गएको छ । सबैभन्दा बढी माइक्रोफाइनान्स इन्डेक्स आज ९.५४ प्रतिशतले घटेको छ । ४० भन्दा बढी लघुवित्त संस्थाहरुको शेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*