मर्जरलाई अन्तिम रुप दिन खप्तड र धौलागिरी लघुवित्तले डाक्यो विशेष साधारण सभा

काठमाडौं । खप्तड र धौलागिरी लघुवित्तले एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी विशेष प्रस्ताव पारित गर्न चैत ६ गते विशेष वार्षिक साधारण सभा आह्वान गरेका छन् ।
खप्तड र धौलागिरी एक आपसमा मर्ज हुँदैछन् । दुवै कम्पनीले मुख्यरुपमा सोही प्रस्ताव राखेर विशेष सभा बोलाएका हुन् । जसमा खप्तडको सभा होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सुरु हुनेछ । यस्तै, धौलागिरीको सभा डिसीआरडिसीको सभाहल उपल्लाचौर, बाग्लुङमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियोमा मर्ज हुने प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । मर्जपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।
हाल खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेको छ ।












