संकटपूर्ण आर्थिक अवस्थाबारे सरकार, निजी क्षेत्र र उच्च अधिकारीबीच छलफल

२१ फाल्गुन २०७९, आईतवार १४:३५

काठमाडौं। अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्र र विभिन्न सरकारी निकायका उच्च अधिकारीसँग छलफल गरेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार अपराह्न निजी क्षेत्रका तीनवटा प्रमुख संघका साथै नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय लगायतका विभिन्न सरोकारवाला निकायका प्रतिनिधि राखेर प्रचण्डले छलफल गरेका हुन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल चेम्बर अफ कमर्शकका अध्यक्ष राजेन्द्र मल्ल सहभागी छन् । त्यस्तै, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव तोयम राय, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राजस्व सचिव रामप्रसाद घिमिरे बैठकमा उपस्थित छन् ।

गतवर्ष विदेशी मुद्राको अभाव झेलेको नेपाली अर्थतन्त्र पछिल्लो समय बजारमा भएको सुस्त आर्थिक गतिविधि, नकारात्मक सरकारी ट्रेजरीको अवस्था, बढ्दो बैंक वित्तीय संस्थाको खराब कर्जा लगायतका समस्याबाट ग्रस्त छ ।
चालू आवमा सरकारले गत वर्षभन्दा १६ प्रतिशत कम राजस्व संकलन गरेको छ । जसकारण सरकारी कोष फागुन १५ गते १ खर्ब ३० अर्ब घाटामा पुगिसकेको छ ।आयात २० प्रतिशतले कम भएपछि विदेशी मुद्राको सञ्चिति भने केही बढेको देखिन्छ । चालू आवको ७ महिनामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी बढ्न सकेको छैन ।बजारमा बैंक ब्याज दर महँगो भएको, बैंकले ऋण नदिएको, सरकारले खर्च नगरेको, आन्तरिक स्रोत परिचालनमा समस्या आएको, निर्माण ब्यवसायीले पैसा नपाएको जस्ता गुनासो बढेको छ। सरकार पनि राष्ट्रपति निर्वाचनमा केन्द्रित हुँदा समस्या झनै झाङ्गिएको छ। यी सबै गुनासाका बारेमा छलफल गर्न प्रधानमन्त्री दाहाल नै अग्रसर भएका हुन्।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रका संगठन र सरकारी निकायका उच्च अधिकारीलाई सँगै राखि अर्थतन्त्रमा देखिएका समस्या कसरी समाधान गर्ने समसामयिक छलफल गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*