नेपाल बंगलादेश बैंकको झै बैंकहरुमा लाइन लाग्ने अवस्था आउन सक्ने ग्लोबल बैंकका अध्यक्ष ढकालको चेतावनी

२३ फाल्गुन २०७९, मंगलवार ०९:३२

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका भावी अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली बैंकहरु कुनै पनि बेला विगतको नेपाल बंगलादेश बैंक जस्तै टाट उल्टिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । नेपाल बंगलादेश बैंकमा करिव २० वर्ष पहिले एक पत्रिकाले समाचार लेखेको आधारमा हजारौं मानिसहरु पैसा झिक्ने लाइनमा बस्दा एकै दिन १० अर्ब निक्षेप झिकिएको थियो । सो काण्ड दोहोरिने चेतावनीले नेपाली बैंकहरु असुरक्षित रहेको सन्देश प्रवाह भएको छ ।

नवलपुरको गैडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “केही वर्ष पहिले कुनै एउटा बैंकको बारेमा पत्रपत्रिकामा समाचार आउँदा बैंकको निक्षेप फिर्ता लिन बैंकमा सर्वसाधारणको लाइन लागेको थियो । त्यो बैंकबाट सर्वसाधारणले अस्वाभाविक रुपमा निक्षेप निकालेका थिए र नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न परेको थियो । अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ । यो डर लाग्दो अवस्था हो । हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौं भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ ।”

अध्यक्ष ढकालले बैंकबाट लिएको कर्जाको ब्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले गरेको आन्दोलनले बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने बताउँदै अध्यक्ष ढकालले यसको समाधान चाँडै निकाल्नुपर्ने बताए । अध्यक्ष ढकालले बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो भनेर प्रश्न समेत गरे । ‘राजनितिक दलका नेतृत्व तथा उद्योगी व्यवसायीहरु साथीहरुलाई म सोध्न चाहन्छु, बैंकको कर्जा तिर्दिन भनेर के भन्न खोजेको हो ? बैंकको निक्षेप भनेको त आम जनताको पैसा होला । यदि बैंकमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौं भने र बैंकलाई मात्र गाली गर्ने गरी कुरा गर्यौ भने त्यसको नतिजा के होला ?” उनले प्रश्न गरे ।

हालका उपाध्यक्ष र आगामी चैत्रबाट अध्यक्ष बन्दै गरेका ढकालले सरकारले अर्थतन्त्र सुधार्न गलत बाटो समातेको दावी गरेका छन् । उनले भने, “हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौँ । त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौ भनेर सल्लाह पनि दिएका थियौँ । तर त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्यो । त्यसले गर्दा अहिले राजश्वमा ठूलो असर गरेको छ ।”

आगामि चैत्रमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको प्रसंगमा कुरा गर्दै उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । “मलाई साथीहरुले तपाईले सर्वसम्मत नेतृत्वका लागि सुझाव दिने त होला भन्दै हुनुहुन्थ्यो । म प्रदेशको साथीहरुलाई आग्रह गर्न चाहन्छु । हामी राजनैतिक दलमा जस्तो चुनावी प्रकृयामा नजाऔँ । केही प्रदेशहरुले सर्वसम्मत नेतृत्व छान्दै राम्रो उदाहरण पनि प्रस्तुत गरेका छन् । तपाई गण्डकी प्रदेशका साथीहरुले पनि सर्वसम्मत नेतृत्वको लागि प्रयास गर्नुहोस् । त्यस्तै, केन्द्रका आकांक्षी साथीहरुलाई पनि सकेसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्नका लागि म आग्रह गर्न चाहन्छु । त्यसो हुन नसकेमा तपाईहरुले स्वस्थ र प्रजातान्त्रिक तरिकाबाट निर्वाचन प्रकृयामा जान म आग्रह गर्न चाहन्छु,” उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*