नबिल बैंकमा गैर कानुनी उपाध्यक्ष, कारवाही गर्न राष्ट्र बैंक असफल !

२३ फाल्गुन २०७९, मंगलवार ११:३४

काठमाडौं । ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने नेपाली उखान चरितार्थ गर्दै नेपाल राष्ट्र बैंकले दिन दहाडै कानुन उल्लंघन भइरहँदा समेत मौन रहेको देखिएको छ । प्रसंग हो नबिल बैंकको हो । नबिल बैंकले आफूलाई देशकै उत्कृष्ट बैंकको दावी गर्छ तर त्यही बैंकभित्र अबैध रुपमा उपाध्यक्ष नियुक्ती गरेर काम गर्दै आएका छन् । अनि नियामक निकाय नेपाल राष्ट्र बैंक भने मौन रहँदै आएको छ ।

नबिल बैंकको अध्यक्षका रुपमा पूर्व बैंकर उपेन्द्र पौडेल कार्यरत छन् भने उपाध्यक्षको रुपमा निर्वाण चौधरीले काम गर्दै आएका छन् । बैंक स्रोतका अनुसार माईन्यूटमा समेत उपाध्यक्ष भनेर हस्ताक्षर गर्ने गरिएको छ । बाफियामा हुँदै नभएको उपाध्यक्ष पद खडा गरिएको बारेमा राष्ट्र बैंकले केही बताउन चाहेको छैन ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) मा नेपालमा सञ्चालित बैंकहरुमा एक जना अध्यक्ष र बाँकी सञ्चालक रहेको बोर्ड सदस्य रहनेछन् । तर, नबिल बैंकमा एक जना अध्यक्ष पौडेल र उपाध्यक्ष चौधरी नियुक्त गरेर नियम विपरित बोर्ड सञ्चालक समितिको बैठक बस्दै आएको छ । बाफियामा उल्लेख भएको भन्दा फरक संरचना निर्माण गरी बोर्ड सञ्चालन हुँदा समेत प्रत्यक्ष नियामक निकाय नेपाल राष्ट्र बैंक मौन रहँदै आएको छ ।

नेपालका नियामक माथि एउटा आरोप केही वर्षदेखि लाग्दै आएको छ–सानो माछोलाई जेल हालेर तर्साउने र ठूलो माछोसँग साउती लगाए घुस सेटिङ गर्ने । भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियारमै त्यस्तो आरोप लाग्यो भने पछिल्लो समय नबिल बैंक काण्डमा राष्ट्र बैंकलाई सोही नजरबाट हेर्न थालिएको छ ।

नबिलको मुख्य लगानीकर्ता चौधरी ग्रुप हो । नेपालमा निकायहरु ठूलो व्यापारिक घराना भन्ने वित्तिकै एउटा टिप्पणी उठाउन समेत उच्च तहका कर्मचारीहरु समेत थर थर काप्ने गर्दछन् । अनुचित लाभ लिने गरेका तथा नेपाल राष्ट्र बैंकबाट रिटायर्ड भएपछि तिनै बैंकहरुमा जागिर खान जाने अनैतिक अभ्यास भएकोले पनि राष्ट्र बैंकको नियमन फितलो हुँदै आएको छ । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीहरु अहिले पनि थुप्रै बैंकमा सिईओ छन् । त्यस्तै मध्येका एक हुन ग्लोबल आईएमई बैंकका सिईओ रत्नराज बज्रचार्य । बज्राचार्यले एनसीसी बैंकको व्यवस्थापन सम्हाल्न जाँदा समेत अनुचित काम गरेको उतिबेलै आरोप लाग्ने गरेको थियो । लगत्तै उनी राष्ट्र बैंक छोडेर निजि बैंकहरुमा सिईओ बन्दै हिडेका छन् । बज्राचार्य जसरी राष्ट्र बैंक भन्दा बाहिर राम्रो कमाई हुने तथ्य बाध्यता बुझेका राष्ट्र बैंक जस्ता नियामक क्षेत्रका कर्मचारीहरुले बैंक तथा वित्तीय क्षेत्रमा भइरहेका अपराधमाथि आँखा चिम्लने गरेका छन् । यसैको पछिल्लो उदाहरण बनेको छ नबिल बैंक ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*