रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, कृषि तथा पशुपन्छीको बीमा गर्न नपाएको गुनासो

२६ फाल्गुन २०७९, शुक्रबार १७:५७

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रामगोपालपुर नगरपालिकाका प्रमुख राम दुुलार साहले बीमाको पहुँच बढाउनका लागि नगरपालिकाले सहजीकरण गर्ने र कृषिबीमामा अनुदान उपलब्ध गराउन बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय भाषामा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्न र बीमा व्यवसायलाई स्वच्छ एवम् पारदर्शी बनाउनका लागि सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, महत्व र फाइदा, बीमा गर्ने विधि, बीमा दाबी भुक्तानी प्रक्रिया, बीमाको पहुँच विस्तारमा नगरपालिकाको भूमिका लगायतका बारेमा प्रस्तुती गरेका थिए । निर्देशक लालले बीमाबाट बचत पनि हुने र जोखिमको आर्थिक सुरक्षण पनि हुने भएकाले ढुक्क भएर बीमा गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा सहभागीहरूले बीमा गराउनका लागि बीमा कम्पनी र बीमा अभिकर्ताहरू नआएको, बीमा दाबी पाउन कठिन रहेको, बीमाका बारेमा राम्रो जानकारी नपाएको, कृषि तथा पशुपन्छीको बीमा गर्न नपाएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा रामगोपालपुर नगरपालिकाका उपप्रमुख रिना देवी यादव, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा, शिक्षक, बीमा कम्पनीका जिल्लास्थित शाखा कार्यालयका प्रमुख, महिला समूहका प्रतिनिधि, कृषक, बीमा अभिकर्ता लगायत गरी करिव १०० जनाको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*