आइएमई लाइफको छैठौं साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित

६ चैत्र २०७९, सोमबार ११:५३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष रामहरि अर्यालको अध्यक्षतामा लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ । यसका साथै सभामार्फत सर्वसाधारणलाई छुट्याईएको शेयर (आइपीओ) जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित भएको छ ।

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै पनि फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्ताव समेत सोही सभाले पारित गरेको छ । यसका अलावा कम्पनीको संचालक समितिमा स्वतन्त्र संचालक नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ ।

साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत प्रस्तावलाई अनुमोदन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*