सङ्कटकाबीच बीमा कम्पनीको बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा, आइएमई लाइफ उत्कृष्ट, अन्यको अवस्था कस्तो ?

१४ चैत्र २०७९, मंगलवार १७:३०

काठमाडौं । चालु आवको फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कूल बीमा शुल्क आम्दानी सामान्य अंकले बृद्धि भएको छ । आर्थिक संकटका बीचमा जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी गत आवको तुलनामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ । 

नियामक बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको आठौं महिनामा कूल ९३ अर्ब ७५ करोड बीमा शुल्क आम्दानी भएको छ । गत आवको यसै अवधीमा उल्लेखित बीमा कम्पनीहरूले जम्मा ९२ अर्ब १९ करोड १४ लाख ९९ हजार रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेका थिए ।

समीक्षा अवधीमा नेपाल लाइफ इन्स्योरेन्सको कूल बीमा शुल्क सबैभन्दा धेरै २४ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ रहेको छ । नेपाल लाइफले गत आवको यसै अवधीमा जम्मा २३ अर्ब ९३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा चालु आवमा १.८७ प्रतिशतले वृद्धि भएको छ । 

 


तथ्याङ्क अनुसार वृद्धिदरको आधारमा आइएमई लाइफको सबैभन्दा धेरै वृद्धि दर हासिल गर्दै अघि बढेको देखिएको छ । तथ्याङ्क अनुसार आइएमई लाइफको कूल बीमा शुल्क वृद्धि दर सबैभन्दा धेरै २२.३३ प्रतिशत रहेको छ । गत आवको यसै अवधीमा दुई अर्ब १४ करोड ४२ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले चालु आवको नौ महिनाको अवधीमा दुई अर्ब ६२ करोड पुर्याउन सफल भएको छ । 

कूल बीमा शुल्क आम्दानीको आधारमा दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीले ११ अर्ब ४९ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा १० अर्ब २२ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।
चौथोमा राष्ट्रिय बीमा संस्थान परेको छ । सो कम्पनीले छ अर्ब ७३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, पाँचौं नम्वरमा सूर्य ज्योति लाइफ परेको छ । सो कम्पनीले पाँच अर्ब ५१ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, युनियन लाइफले पाँच अर्ब १७ करोड, एशियन लाइफले चार अर्ब ५९ करोड, सिटिजन लाइफले तीन अर्ब ५७ करोड, मेट लाइफ तीन अर्ब ३९ करोड, प्राइम लाइफ दुई अर्ब ९६ करोड, आईएमइ लाइफ दुई अर्ब ६२ करोड, सन नेपाल लाइफ दुई अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

बृद्धिदरको आधारमा आइएमई लाइफ उत्कृष्ट हुँदा नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ । सो कम्पनीको कूल बीमा शुल्क बृद्धिदर १३.५६ प्रतिशत रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रिलायन्स लाइफ रहेको छ । सो कम्पनीको ११.२६ प्रतिशतले बृद्धि भएको छ । चौथो स्थानमा महालक्ष्मी लाइफ रहेको छ । सो कम्पनीको ९.०६ प्रतिशतले बृद्धि भएको छ ।

 

सानिमा लाइफको ७.९७ प्रतिशतले कूल बीमा शुल्क बृद्धि हुँदा प्रभु लाइफको ५.७३ प्रतिशतले बृद्धि भएको छ भने एलआईसी नेपालको बृद्धिदर ३.४२ प्रतिशत रहेको छ । त्यस्तै, सिटिजन लाइफको २.६१ प्रतिशत बृद्धि हुँदा नेपाल लाइफको १.८७ प्रतिशत रहेको छ । सरकारी कम्पनी राष्ट्रिय बीमा संस्थानको ०.८२ प्रतिशतले बृद्धि भएको छ ।

सूर्या र ज्योति लाइफ मिलेर एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफको कूल बीमा शुल्क ०.९४ प्रतिशतले घटेको छ । त्यस्तै, गुराँस लाइफको ४ प्रतिशतले घट्दा सन नेपाललको पाँच प्रतिशतले बृद्धि भएको छ । मेट लाइफको ५.११ प्रतिशतले कूल बीमा शुल्क घट्दा युनियन लाइफको ७.२३ प्रतिशतले घटेको छ भने रिलायबल नेपाल लाइफको ११.६८ प्रतिशतले घटेको छ । सबैभन्दा तल प्राइम लाइफको १३.४८ प्रतिशतले घटेको छ ।

समग्रमा ७ जीवन बीमा कम्पनीको कूल बीमा शुल्क घट्दा ११ जीवन बीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी बृद्धि भएको छ । आर्थिक संकटका बीचमा जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी सामान्य अंकले भएपनि बृद्धि भएकोले जीवन बीमा क्षेत्रमा उत्साह बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*