नयाँ लघु बीमा कम्पनीहरुले कर्पोरेट छुट दिन नपाइने

२९ चैत्र २०७९, बुधबार १६:११

काठमाडौं। लघु बीमा कम्पनीहरूले जारी गर्ने पोलिसीमा कुनै पनि खालको छुट, बीमाशुल्क कटौती गर्न वा सहुलियत दिन पाउनेछैनन् ।तर, अभिकर्ता प्रयोग नगरी सीधै बिमालेख बिक्री गरिएको अवस्थामा भने ५ प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सक्ने प्राधिकरणले जारी गरेको निर्देशनमा उल्लेख छ ।

लघु बीमा कम्पनीले प्राधिकरणले निर्माण गरेको वा आफैँले निर्माण गरी प्राधिकरणले स्वीकृत गरेको पोलिसी बिक्री गर्न पाउनेछन् ।प्राधिकरणको निर्देशनअनुसार लघु जीवन बीमा कम्पनीले आजीवन लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र अन्य लघु जीवन बीमा पोलिसी बिक्री गर्न पाउनेछन् । त्यस्तै, निर्जीवन लघु बीमा कम्पनीले भने घर, सम्पत्ति तथा व्यवसाय लघु बीमा, मोटर लघु बीमा, इन्जिनियरिङ लघु बीमा, दायित्व तथा मौद्रिक क्षति लघु बीमा र अन्य लघु निर्जीवन बीमा जारी गर्न पाउनेछन् ।

जीवन लघु बीमा लेखको हकमा एक वर्ष वा सोभन्दा बढीको अवधिको पोलिसी जारी गर्न पाउनेछन् । निर्जीवन लिघु बिमालेखको हकमा भने एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्रै पोलिसी बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।

प्राधिकरणको निर्देशनअनुसार बिमितबाट पूरा बिमाशुल्क प्राप्त नगरी लघु बीमालेख जारी गर्न पाइनेछैन । तर, नेपाल सरकार वा प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले बीमालेखमा अनुदान उपलब्ध गराएको रहेछ भने सोबराबरको रकम घटाई बाँकी बिमाशुल्क रकम लिई बीमा गर्न बाधा पुग्नेछैन । बीमाालेखमा उल्लेख गरिएको बिमादर गणनाका आधारमा बिमाशुल्क गणना गर्नुपर्नेछ । बीमालेखअनुसार गणना गर्दा आउने बिमाशुल्कमा कुनै पनि अतिरिक्त रकम थप गर्न पाइनेछैन । एकपटक बीमालेख जारी भएपश्चात् बीमा अवधिभरि बीमादर बढाउन वा घटाउन नपाइने निर्देशनमा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*