प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने चार बीमा कम्पनीको प्रकृया अन्तिम चरणमा, प्रतिकित्ता कुन कम्पनीको शेयर मूल्य कति ?

१० बैशाख २०८०, आईतवार १५:२२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृती गर्ने तयारी गरेको छ। बोर्डले हाल प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीहरुको आइपीओ स्वीकृत गरिरहेको छ।हाल चार कम्पनीहरुले प्रिमियमको मूल्यमा आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छन् । यी चार कम्पनीको आइपीओ निष्काशन प्रकृयामा रहेको छ।चार कम्पनीमध्ये तीनको अन्तिम प्रकृयामा पुगेको छ। सन नेपाल, रिलायबल नेपाल लाइफ र आइएमई लाइफको प्रकृया अघि बढ्दै गरेको र दुईले चाडौ नै प्रिमियममा आइपीओ निष्काशनको लागि स्वीकृती समेत पाँउदैछन् ।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १७६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७६ रुपैयाँमा शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रति कित्ता २७६ रुपैयाँमा शेयर निष्काशन गर्दा ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ संकलन गर्ने छ
कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न बोर्डमा फागुन २८ गते आवेदन दिएको हो ।

रिलायबल नेपाल लाइफ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ।
कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न असोज १३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कसरी निर्धारण हुन्छ प्रिमियम मूल्य ?

धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा बिक्री प्रस्ताव मार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नु पर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ ब। यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम मूल्य थप गरेर प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।
कम्पनीले ९६ लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न फागुन १७ गते बोर्डमा आवेदन दिएको हो ।

सिटिजन लाइफ
सिटिजन्स लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९० रुपैयाँ प्रिमियम थप गरिक कुल २९० रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको लागि भने प्रतिकित्ता अंकित मूल्यमा नै आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको लागि निष्कासन गर्नुपर्ने गरी नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता २९० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १०० रुपैयाँमा निष्कासन गर्ने सेयरसहित कुल ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*