अर्बपति भरिया, जो मासिक ७७ हजार तलब खाएर अर्बौको सेटिङ गर्दैछन्

१४ बैशाख २०८०, बिहीबार ११:३६

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल थाईल्याण्ड र नेपालका प्रतिष्ठित व्यवसायी हुन् । थाईल्याण्डमा उनको ग्रिन हेरिटेज नामक कम्पनीमा करिब ४९ प्रतिशत जति शेयर रहेको छ । बार्षिक करोडौंको कारोबार गर्ने सो कम्पनी त्यहाँको प्रख्यात कम्पनी हो । यस बाहेक उनको थाईल्याण्डमा थुप्रै व्यवसाय छन् भने नेपालमा पनि धुलिखेलमा दुसित थानीको चेन होटल रमेश हमालकै मुख्य लगानी रहेको छ । सो होटलमा करिब साढे दुई अर्ब रुपैयाँ लगानी गरेका छन् । धितोपत्र बोर्डका अध्यक्ष हमालको थाईल्याण्ड र नेपालमा अर्बौ रुपैयाँको सम्पत्ति रहेको छ ।

अर्बौ सम्पत्तिको मालिक हमालले मासिक करोडभन्दा बढि आम्दानी गर्ने उनी निकट स्रोतले जनाएको छ । तर, नेपाल धितोपत्र बोर्डमा मासिक ७७ हजार २११ रुपैयाँ तलव र बोर्ड लगायतमा आउने केही रकम भत्ता पाउने बोर्डको कार्यकारी अध्यक्ष पदमा कार्यरत रहेका छन् । पढाईमा अब्बल उनी थाईल्याण्डकै बैंककमा रहेको एशियन इन्टिच्यूट अफ टेक्नोलोजीबाट सन् १९९८ मै एमबिए गरेका थिए । त्यस लगत्तै थाईल्याण्डमा बसोबास र व्यवसाय गर्दै आएका हमालले सन् २००५ मा ग्रिन हेरिटेज ग्रुप नामक कम्पनी संस्थापना गरेर घरजग्गा, टुरिजम, आवासिय तथा हस्पिटालिटी प्रपर्टी डेभलपमेन्टको काम गर्दै आएका थिए ।

पछिल्लो २३ वर्षदेखि व्यवसायमा सक्रिय हमालको नेपालमै पनि एउटा इन्भेष्टमेन्ट कम्पनी रहेको छ भने साढे दुई अर्ब लगानीमा नयाँ होटल पनि बन्दैछ । नेपाल र थाईल्याण्डमा अर्बौको सम्पत्ति अनि बार्षिक करोडौं रुपैयाँ आम्दानी गर्दै आएका हमाल अहिले धितोपत्र बोर्डमा मासिक ७७ हजार २११ रुपैयाँ तलब बुझ्ने कार्यकारी अध्यक्ष पदमा कार्यरत छन् । हमाल त्यहाँ तलव र सेवा सुविधा लिन कार्यकारी अध्यक्ष भएका होइनन् । उनी दैनिक खर्च नै करिब एक लाख रुपैयाँका दरले गर्दछन् । नेपालकै महंगो मध्ये होटल मेरियटमा बसेको खर्च मात्रै मासिक लाखौं रुपैयाँ बुझाउँदै आएका छन् ।

 

अब प्रश्न उठ्छ, त्यति ठूला धनाढ्य व्यक्ति, मासिक करोडौं रुपैयाँ आम्दानी गर्ने सम्पन्न व्यक्ति किन धितोपत्र बोर्डमा ७७ हजार तलव खाने जागिरका लागि मरिहत्ते गर्दैछन् ? वास्तवमा हमाल धितोपत्र बोर्डमा जागिर खान आएको नभई नेपालमा राजनीतिज्ञ र कर्मचारी अनि व्यापारीलाई अर्बौ रुपैयाँ घुस सेटिङ गर्ने, गराईदिने एक जना अर्बपति भरिया हुन् । भरिया धेरै प्रकारका हुन्छन्, कोही हात मुख जोर्न भारी बोक्छन्, उनीहरुले श्रमको ज्याला लिन्छन्, त्यो भारी सुन होस वा बालुवाको उनीहरुलाई मतलव हुँदैन । हो, त्यस्तै शैलीमा अहिले धितोपत्र बोर्डका अध्यक्ष हमाल अर्बपति भएर पनि नेता, कर्मचारी र ठूला व्यापारीहरुको भरियाको रुपमा नेपालमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स बाँड्ने परियोजनाको ठेक्का लिइरहेका छन् ।

नेपाल जत्रो सानो देशमा दुई वटा स्टक एक्सचेन्जको आवश्यकता छदै छैन, त्यो उनलाई राम्रोसँग थाहा छ । विश्वकै नामी कलेजबाट एमबिए गरेको नाताले उनी बौद्धिक रुपमा तिक्ष्ण र सेटिङमा चलाख छन् । त्यसैले नेपालका ठूलो व्यापारी र राजनीतिक नेतृत्वको चाहना अनुसारको कोही पनि नफस्ने, भ्रष्टाचारको मुद्दा नलाग्ने गरी सेटिङ गर्ने कामका लागि हमाललाई खटाइएको छ । जुन कामका लागि उनले निर्वाचनको ठीक अगाडि गर्नु उपयुक्त ठाने, निर्वाचन आचार संहिता र सर्वोच्च अदालतमा परेको मुद्दाको कारण रोकिएको नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्ने कार्य अन्तिम चरणमा पुर्याएका छन् । अर्बपति सम्पत्ति र मासिक करोडौं रुपैयाँ आम्दानी भएर पनि कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणासँगको सेटिङमा हमालले नेपालको पुँजि बजारको काम गर्दैै आइरहको सरकारी लगानीको नेपाल स्टक एक्सचेन्जलाई धरासायी बनाएर निजी स्टक एक्सचेन्ज कम्पनी संस्थापना गरेर अर्ब भन्दा बढि रकमको घुस सेटिङ गर्ने काम भइरहेको छ ।

तर, अर्बौ सम्पत्तिमा रमाइरहेका हमालले सेबोनको अध्यक्ष बनेर नेता र व्यापारीहरुका लागि कमाउन नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गरेमा उनले जीवनमा आर्जन गरेको इज्जत, इमान र व्यवसायिक दक्षता खरानी बनाउँदैछन् । नेपालको सन्दर्भमा जो जो ठूला घोटाला काण्डमा मुछिएर सञ्चार माध्यमको निशानामा परेका छन्, ति कसैको पनि भाग्योदय हुन सकेको छैन । चाहे त्यो, लाउडा एयर काण्डमा होस्, पर्यटन बोर्ड घोटाला काण्ड, वाईडबढी जहाज काण्ड, थर्मल गन काण्ड, ओम्नी काण्ड, सेक्युरिटी प्रेस काण्ड, पुल काण्ड, घरबेटी निर्माण व्यवसायी काण्ड, मार्सी भात काण्ड, बद्री न्यौपाने–भृकुटीमण्डप काण्ड होस् वा राष्ट्रिय बाणिज्य बैंक डुबाउने चण्डी ढकाल काण्ड नै । थाईल्याण्डमा राम्रो व्यवसाय गर्दै आएका नेपालमा अर्बौ रुपैयाँको होटल खोल्दै गरेका तिक्ष्ण बौद्धिक व्यक्तित्व हमालले ७७ हजार २११ रुपैयाँ मासिक तलव खाने पदमा बसेर जुन तहको सेटिङ गर्दैछन्, यसले उनको जीवनमा के फरक पार्ला ? जनचासोको विषय बनेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*