नौ महिनामा ३३ बीमा कम्पनीले संकलन गरे एक खर्ब ३४ अर्ब, बीमाको दायरामा ४४.५५ प्रतिशत पुग्यो

२० बैशाख २०८०, बुधबार १६:१२

काठमाडौं । देशमा चरम आर्थिक संकटका बीचमा बीमाको दायरामा अझै बृद्धि भएको आज प्रकाशित तथ्याङ्कले देखाएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले कूल एक खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ कूल बीमा शुल्क बापत आम्दानी गरेका छन् ।

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आवको नौ महिनामा कूल एक खर्ब चार अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब एक करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरुले संकलन गरेको रकम म्यादी बीमा बाहेकको रकम बचत हो भने निर्जीवन बीमा कम्पनीहरुले प्राप्त गरेको रकम जोखिम बापतको प्रिमियम हो ।

चालु आवको नौ महिनामा कूल जीवन बीमालेख संख्या एक करोड ४१ लाख ६५ हजार ९९८ वटा जारी भएको छ । त्यस्तै निर्जीवन बीमालेखको संख्या २१ लाख ६६ हजार ३२८ वटा रहेको छ ।
बीमा कम्पनीहरुले गरेको कडा मेहनतको प्रतिफल समग्र बीमाको दायरामा बृद्धि भई ४४.५५ प्रतिशत पुगेको हो । नौ महिनाको अवधीसम्मको तथ्याङ्क अनुसार विशुद्ध जीवन बीमाको मात्रै बीमाको पहुँच १७.४३ प्रतिशत पुगेको छ भने लघुबीमा, बैदेशिक रोजगार म्यादी बीमा समेत गरी ४४.५५ प्रतिशत पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*