लगानीकर्ताले किन खोजे नेपाल स्टक एक्सचेन्जको विकल्प ? कर्मचारीको र्याल चुहाउने प्रवृत्तिदेखि सरकारी रवैयासम्मको कहानी

२० बैशाख २०८०, बुधबार १८:३८

नेपाल स्टक एक्सचेन्ज नेपाल सरकार र लाइन एजेन्सीहरुको लगानीमा नेपालमा सञ्चालित एक मात्रै सरकारी स्वामित्वको कम्पनी हो । नेपाल स्टक एक्सचेन्जमा कूल २५३ वटा कम्पनीहरु सूचिकृत भइ कारोबार हुँदै आएको छ । देशको एकमात्र पुँजि बजार सम्बन्धी प्लेटफर्म नेप्सेमा हिजोसम्मको कूल बजार पुँजिकरण २७ खर्ब १९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ रहेको छ । अर्थात नेपाली पछिल्लो समय नेपालमा करिब ४५ लाख जनताको लगानी रहेको २७ खर्ब रुपैयाँ लगानी भएको प्लेटफर्म हो नेप्से । तर, नेप्सेको यो एकाधिकार अब लामो समयटिक्ने छैन, नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अन्तिम अवस्थामा पुर्याइसकेको छ । अब कसैले चाहेर पनि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स नरोकिने गरी अघि बढिसकेको छ ।

नयाँ स्टक एक्सचेन्जको पक्षमा सिंगो लगानीकर्ताहरु उभिएका छन् । आम लगानीकर्ताहरु नयाँ स्टक एक्सचेन्जका पक्षमा उभिएका छन् । उनीहरुलाई सेबोनले दिन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको प्रक्रियासँग मतलव छैन । हालको नेप्सेको तानाशाही प्रवृत्ति, घोटाला, घुसखोरी र र्याल चुहाउने कर्मचारीहरुको प्रवृत्तिका कारण आजित, हैरान र आक्रोसित बन्न पुगेका लगानीकर्ताहरुले बाध्य भएर नयाँ स्टक एक्सचेन्ज कम्पनीको पक्षमा दृढटापूर्वक उभिन पुगेका छन् ।

गत शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नयाँ स्टक एक्सचेन्जको बारेमा प्रश्न उठाईन । लगानीकर्ताहरुले स्वतन्त्र पार्टीकै सातोपुत्लो उडाए । त्यति मात्रै होइन, घोषणा पत्रको फोटो राखेर सामाजिक सञ्जालमा सोबिता र स्वतन्त्र पार्टीमाथि प्रश्नै प्रश्न उठाइयो । यसको पछाडि सरकारी लगानीको नेपाल स्टक एक्सचेन्जका कर्मचारीहरुको रुट व्यवहार, र्याल चुहाउने कार्यशैली, नेप्सेको सिष्टम र सरकारी रवैवा मुख्य रुपमा जिम्मेवार रहेको छ ।

नेप्सेका कर्मचारीहरुको र्याल चुहाउने प्रवृत्ति र गैर जिम्मेवार कार्यशैली
गत सोमबार बीमापोष्टले नेप्सेका प्रशासन विभागसँग सम्पर्क गर्न चाह्यो । नेप्सेको कार्यालयमा टेलिफोन गर्यो । एक महिलाले टेलिफोन उठाईन । प्रशासनमा कुरा गर्न चाहेको भन्ने वित्तिकै एक जना जगदिश रिजाल नाम गरेका व्यक्ति ति महिलाबाट टेलिफोन खोसे भने काम, विवरण, टेलिफोन गर्नुको कारण नभनेसम्म फोन ट्रान्सफर हुँदैन । प्रशासनसँग केही गर्न चाहेको बताएपछि सबैकुरा नभने ट्रान्सफर हुँदैन भन्दै टेलिफोन राखिदिए । पछि बुझ्दा थाहा भयो प्रशासनका हाकिम समेत रहेका ति जगदिश रिजाल रिसेप्सनमा गफ गर्न र सूचना सुटुक्क लिन आउने रहेछन् । नेपाल स्टक एक्सचेन्जमा कार्यरत कर्मचारीहरुको व्यवहार असाध्यै रुट हुने गरेको लगानीकर्ताहरुको गुनासो दशर्कौदेखिको छ । सरकारी कम्पनीमा जागिर खाएका उनीहरुको ध्यान कुन कम्पनीको के त्रुटी छ र केही पाइन्छ कि पाइदैन भनेर खोज्ने धन्दा निकै मौलाएको रहेछ । चाडपर्वमा उपहार स्वरुप आउने सामानमा लोभ मात्रै होइन, र्याल नै चुहाउने रहेछन् ।

नेपाल स्टक एक्सचेन्ज सरकारी लगानीको कम्पनी हो । सूशासन व्यवस्थापन ऐन २०६४ को दफा २५ मा हरेक सरकारी कार्यालयमा नागरिक बडा पत्र र वेभसाइटमा उच्च पदस्थ अधिकारीको नाम, पद तथा अन्य विवरण सार्वजनिक रुपमा राख्नुपर्ने व्यवस्था छ । तर, नेपाल स्टक एक्सचेन्जले हालसम्म सञ्चालकहरुको विवरण र फोटो वेभसाइटमा राखेपनि सो संस्थाका अन्य निर्देशकहरु को को छन् ? विवरण सार्वजनिक गरेको छैन । यसले नेप्सेका कर्मचारी, उच्च पदस्थ व्यक्तिहरु कति गैर जिम्मेवार र आफूलाई सुपेरियर ठान्दछन् भन्ने पुष्टि हुन आउँछ । अर्थमन्त्रालयले तोकेको सिईओ र अध्यक्षको तजबिजीमा चल्ने नेप्सेले लगानीकर्ताको पक्षमा कहिल्यै हित चाहेन बरु लगानीकर्ताहरुलाई कसरी घाँटी रेट्ने र कसरी लगानीकर्ताबाट कमाउने भन्ने मात्रै सोचिरह्यो । कर्मचारीहरुको यही र्याल चुहाउने संस्कृति र तानाशाही कार्यशैलीका कारण आम लगानीकर्ताहरु आज नेप्सेलाई धरासायी बनाउँदै नयाँ स्टक स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने कार्यको पक्षमा सतिसाल बनेर उभिन पुगेका छन् ।

सरकारी रवैया
नयाँ स्टक एक्सचेन्जको पक्षमा आम लगानीकर्ताहरु दृढतापूर्वक उभिनुका पछाडि अर्को कारण लामो समयदेखिको सरकारी रवैया सुधार नहुनु हो । नेप्से नेपाल सरकार, नेपाल राष्ट्र बैंकसहितका सरकारी एजेन्सीहरुको लगानीका संस्थापित कम्पनी हो । सरकारी लगानीको कम्पनी हुनुको नाताले हरेक कुरामा सार्वजनिक खरिद ऐनको पछाडि दगुर्नुपर्नु अर्को कारण बन्यो । लगानीकर्ताको खर्बौ रुपैयाँ सम्पत्ति रहेको नेप्सेमा कुनै पनि समस्या मिनेटभरमा हल गर्नुपर्ने हुन्छ तर, त्यसको लागि सरकारी मापदण्ड पूरा गर्नुपर्ने भयो जसको लागि ३५ दिनसम्म कुनुपर्ने बाध्यता रह्यो ।

सरकारी लगानीको कम्पनी भएर पनि अत्याधुनिक प्रविधि, अत्याधुनिक सिष्टम ल्याउन सकेन । जसको मारमा लगानीकर्ताहरु परिरहे । लगानीकर्ताहरुबाट कमाउनको लागि अदलबदलमा नेप्सेलाई प्रयोग गरियो जसका कारण लगानीकर्ताहरुले बजारबाट अर्बौ रुपैयाँ समेत गुमाउने पुगे ।

चन्द्र ढकालको कमाउ धन्दाले लगानीकर्ता हैरान
नेप्सेमा राखिएको सिष्टमको नाम हो वाईडो । यसले लगानीकर्ताहरुको हितमा भन्दा पनि लगानीकर्ताहरुलाई डुबाउन उपयोग हुँदै आएको आम लगानीकर्ताहरुको विश्वास छ । वाईडो कम्पनीमा चन्द्र ढकालको मुख्य लगानी रहेको छ । चन्द्र ढकालको कम्पनी चन्द्रागिरी हिल्स करोडौं घाटामा हुँदा पनि शेयरको मूल्य भने २५०० भन्दा तल झर्नु परेन । यस्ता धेरै उदाहरणहरु छन्, जसका कारण सिष्टममै सेटिङ गरेर केही सीमित माफिया र ठूला व्यापारीहरुले बजार मूल्यमा चलखेल गर्दै आएको विश्वास गर्दछन् ।

निर्धारित समयमा सिष्टम नचल्दा तीन वर्ष पहिले लगानीकर्ताहले राति ७ बजेसम्म शेयर कारोबार गरेको अझै बिर्सेका छैनन् । वाईडोको कमजोरीका कारण सिष्टममा सधैं समस्या आइरह्यो, सिष्टमकै कारण लगानीकर्ताहरुले एकै दिन अर्बौ रुपैयाँ गुमाए तर, नेप्सेले लगानीकर्ताहरुको पक्षमा कहिल्यै सहजिकरण गरौं भनेर भनेन । वाईडोको सिष्टममा जोडिएको टिएमएस नचल्ने, फरक फरक देखाउने, समयमा कारोबार गर्न कठिन हुने समस्या लगानीकर्ताहरुको लागि निकै पीडादायी बनिरहेको छ । तर, नेप्सेको अझै ध्यान पुगेको छैन ।

२० वर्षदेखिको मागः रणनीतिक साझेदार वा व्यवस्थापन करार
नेप्सेको वर्तमान संरचना र कर्मचारीहरुबाट आम सुधार नहुने देखेपछि हैरान भएका लगानीकर्ताहरुले विगत २० वर्षदेखि नेप्सेको आईपिओ जारी गर्नुपर्ने, पुँजि थप गर्नुपर्ने, रणनीतिक साझेदार वा व्यवस्थापन करारमा दिएर आम सुधार गरी अन्तर्राष्ट्रिय स्टाण्डर्ड अनुसारको बनाउन माग गरिरहे । कैयौं आन्दोलन भए, अनसन बसेर लगानीकर्ताहरुले नेप्सेलाई सुधार गर्न र लगानीकर्ता मैत्री बनाउन प्रयास गरिरहे । तर, सबै प्रयासहरुमा लगानीकर्ताहरु असफल बने । अन्ततः उनीहरुले हार माने र सरकारी लगनीको नेप्सेको विकल्पमा नयाँ स्टक एक्सचेन्ज कम्पनी चाहियो भन्दै माग गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*