सेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र, कुन -कुन कम्पनीले पाए ?

नेपाल धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान गरेको छ । बोर्डले यसअिघ १६ वटा कम्पनीलाई र हिजो पुन थप १३ वटा कम्पनीलाई आश्य पत्र दिएको हो ।बोर्डले ब्रोकरका ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो ।
बोर्डले सनराइज सेक्युरीटीज, जेबिएनएल सेक्युरीटीज, सेयरप्रो सेक्युरिटीज प्रालि, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, प्रोपर्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्रालि, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटीज लिमिटेड, कलश स्टक मार्केट प्रालि, मनि वल्र्ड सेयर एक्सचेन्ज प्रालि, शुभकामना सेक्यूरिटिज प्रालि र मियो सेक्युरिटिज प्रालिलाई ब्रोकर लाइसेन्सका लागि आशय पत्र प्रदान गरेको हो ।
धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्था सहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । आवेदन दिने ३० दिनको अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो । धितोपत्र बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकेको हो ।
धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा धितोपत्र व्यापारी० नियमावली २०६४ अनुसार लाइसेन्सका लागि आवेदन माग गरेको ३५ दिनभित्र एलओआई दिनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशले प्रक्रिया रोकेको अवधि बाहेक ३५ कार्यदिनभित्र नै लाइसेन्स पाउने नपाउन एकिन गर्नेगरी प्रक्रिया अगाडि बढाएको बोर्डले जनाएको छ ।
‘बोर्डले लाइसेन्सका लागि निवेदन आह्वान गरेकोपछि प्राप्त भएको निवेदनमा रितपूर्वक निवेदन परे नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए नभएको र ऐन तथा यस नियमावली बमोजिम पुरा गर्नुपर्ने सर्त पुरा भए नभएको जाँचबुझ गरी निवेदन दिने म्याद समाप्त भएको मितिले ३५ दिनभित्र अनुमतिपत्र जारी हुन सक्ने वा नसक्ने सम्बन्धमा निर्णय गर्नु पर्नेछ’ नियमावलीमा भनिएको छ ।
बोर्डले एलओआई प्रदान गरेपछि पूर्वाधार तयार गर्न कम्पनीलाई निर्देशन दिनुपर्ने व्यवस्था गरेको छ । एलओआई प्राप्त गरेका कम्पनीले पूर्वाधार तयार गर्न पत्र प्राप्त भएको मितिले ६ महिनामा पूर्वाधार तयार गरीसक्नुपर्ने हुन्छ । एलओआई प्राप्त गरेका कम्पनीले पूर्वाधार तयार गरेर बोर्डमा जानकारी प्राप्त भएको ३० दिन भित्र धितोपत्र दलाल र धितोपत्र व्यापारीले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गरी पूर्वाधार पर्याप्त भएमा व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।