सेबोनद्वारा थप १४ कम्पनीलाई नयाँ ब्रोकरको आशयपत्र, हालसम्म एओआई पाउने कम्पनी ४३ पुग्यो, क–कसले पाउला लाइसेन्स ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १४ वटा ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ । सेबोनले यसअघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ वटा ब्रोकरलाई आशयपत्र दिइसकेको छ ।
यससँगै बोर्डबाट आशयपत्र पाउने कम्पनीको संख्या कुल ४३ पुगेको छ । आशयपत्र पाएका कम्पनीमध्येहरुबाट पनि बोर्डले तोकेको मापदण्ड पुरा गरेका कम्पनीहरुले मात्रै ब्रोकरको लाइसेन्स प्राप्त गर्नेछन् ।
आशयपत्र पाउने थप १४ कम्पनीहरुमा माछापुच्छ्रे सेक्युरिटिज, प्रभु स्टक मार्केट, पाही इन्भेष्टमेन्ट, बेनी सेक्युरिटिज, ट्रेडमो सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, रोडसो सेक्युरिटिज, सजिलो ब्रोकर पब्लिक, एप्पल सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी, हिमालयन सेक्युरिटिज, सानी सेक्युरिटिज र सी.जी इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् । सो मध्ये पनि सीमित कार्य गर्नका लागि १२ कम्पनीले आशयपत्र पाएका हुन् भने दुई कम्पनीले पूर्ण कार्य गर्न आशयपत्र पाएका हुन् ।
यसअघि धितोपत्र दलालको अनुमति प्राप्त गर्न बोर्डमा आवेदन दिएको इगल स्टक इक्युटी प्राइभेट, सेञ्चुरी स्टक ब्रोकर र एनआइसी एशिया सेक्युरिटि कम्पनीले ब्रोकर लाइसेन्स नपाउने गरी आवेदन खारेज भइसकेको छ ।