बीमापोष्ट आजबाट तेस्रो वर्षमा, ‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ हाम्रो प्रतिबद्धता

३१ बैशाख २०८०, आईतवार १०:१२

‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने लक्ष्य पछ्याउदै बीमापोष्ट शुभारम्भ गरेको पनि दुई वर्ष पुरा भई तेस्रो वर्षमा लम्किसकेको छ । यो छोटो अवधीमा तपाईहरुबाट प्राप्त विश्वास र मायाले हामीलाई अझै लक्ष्यप्रति प्रतिबद्ध र दृढ हुन मद्दत मिलेको छ ।
स्थापनाको दुई वर्षको अवधीमै हामीलाई विश्वास गरेर पढिदिनुहुने, बीमा सेचतनाको ज्ञान गर्नुहुने बीमित तथा अभिकर्ता, नेपाल सरकार तथा नियामक निकाय अनि बीमा कम्पनीहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौं । यस अवधीमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरले सञ्चालन गरेको बीमापोष्ट डटकम स्थापनाको दुई वर्षे अवधीमा नेपालसहित विश्वभरबाट मासिक १५ लाख हाराहारी पाठक पुर्याउन सफल हुनु हाम्रो लागि गौरवको कुरा हो । तर, यो सबै तपाईहरुले नियमित रुपमा पढिदिनु भएर, सामाजिक सञ्जालमा हुने छलफलमा सहभागी हुनु भएर मात्रै सम्भव भएको हो । युद्धग्रस्त युक्रेनदेखि नेपालसम्मका ति तमाम पाठकहरुलाई नमन गर्न चाहन्छौं । राम्रो लेख्दा माया गर्नुभयो, केही अध्ययन नपुग्दा वा अलिकति दायाँबायाँ जाने वित्तिकै गाली रुपी माया गरेर हामीलाई निरन्तर झकझक्याइरहनु हुने सबैलाई आजको दिनमा हाम्रो विशेष सम्झन चाहन्छौं ।

कोरोना महामारीका बीचमा सुरुवात भई आर्थिक संकटको अवधीसम्म आईपुग्दा बीमापोष्टले अनेकन आरोह–अवरोध र कडा चुनौति मात्रै सामना गरेको छ । तर, हामी आफ्नो कर्तव्यपथमा दृढ यात्राबाट बिचलित भएका छैनौं । कठिन समयका दुई वर्षको यात्रा सिक्न, बुझ्न र लय मिलाउन पर्याप्त होइन । कोरोना महामारी, आर्थिक संकट र यस क्षेत्रमा उत्पन्न नयाँ परिस्थितिले हाम्रा लागि सिक्ने र लय मिलाउने समय दिएन । देश, परिस्थिति र बीमा क्षेत्रमा हाम्रो आवश्यकता र उपस्थितिलाई कठोर रुपमा माग गरिरहेको थियो, जुन हामीले एउटा राष्ट्रिय अर्थतन्त्रको हितमा काम गर्ने र बीमाको दीगो विकास लक्ष्यका लागि संघर्षरत निर्भिक कलमको रुपमा आफ्नो परिचय गराउन सफल भएका छौं ।

विगत दुई वर्षको अवधीमा हामी आम सर्वसाधारण, बीमित, बीमा कम्पनी, नेपाल सरकार र बीमा प्राधिकरणका बीचमा सुचना प्रवाह गर्ने शसक्त माध्यमको रुपमा नेपाली बीमा क्षेत्रमा स्थापित हुन सफल भएकोमा गर्व अनुभूति भएको छ । बीमापोष्ट नेपाली जनसाधारण र बीमितलाई बीमा अभिकर्ता, बीमा कम्पनी र नियामक निकाय नेपाल बीमा प्राधिकरण तथा नेपाल सरकारको बीचमा जोड्ने पुलको भूमिका खेल्न सफल भएको हामीले अनुभूति गरेका छौं ।

देशमा बीमा व्यवसायको प्रबद्र्धन, सम्बद्र्धन, उत्थान, बीमाको दीगो विकास र पुनर्संरचनाका लागि खेलेको भूमिका समग्र बीमा क्षेत्रकै लागि स्मरणयोग्य बन्न पुगेको हामीले ठानेका छौं । राज्यको चौथो अंगको रुपमा हामीले वाचडगको भूमिका निर्वाह गरिरहँदा अनेकौं आरोह–अवरोधहरु पार गर्दै हामी आजको आत्म निर्भर अवस्थामा आइपुगिसकेका छौं ।

बीमाको पहुँच नपुगेका गरिब बस्तीहरुमा बीमाको पहुँच पुर्याउन, बीमा साक्षरता फैलाउन अझै बाँकी छ । हाम्रो अबको लक्ष्य गाउँदेखि सिंहदरवारसम्म बीमाको पहुँच समन्यायिक रुपमा विकास र विस्तार गर्नमा हुनेछ । हाम्रो आगामी यात्रा बीमाको दीगो विकास रणनीतिबाट बिचलित हुनेछैन । देशको वित्तीय क्षेत्रमा सुशासन, भ्रष्टाचारको निरुपण, विधिको शासन र संविधानमा उल्लेख भएको समाजवादी अर्थव्यवस्था निर्माणमा हामी आजको यस ऐतिहासिक दिनमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ । वित्तीय क्षेत्रमा फैलिएको विकृति, कुशासन र मनोमालिन्यलाई चिर्ने क्रममा हामीले निरन्तर तपाईहरु पाठकको साथ खोजिरहनेछौं ।

तेस्रो वर्ष प्रवेशको यस सुखद अवसरमा हाम्रो यात्रामा सघाउनुहुने पाठकबृन्द, विज्ञापनदाता तथा रचनात्मक सुझाव दिनुहुने शुभेच्छुकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्दछौं । नेपाली बीमा जगतको मूलधारे सञ्चार माध्यम हुनुको नाताले सबैमा समान व्यवहार, समान प्रतिनिधित्व र पत्रकारिताको आदर्श, मूल्य र मान्यताभित्र रहेर बीमा व्यवसायको दीगो विकास रणनीतिको लागि काम गर्नु हाम्रो मुख्य लक्ष्य हुनेछ । यस अभियानको दौरानमा पाठक, बीमा बिज्ञ, विश्लेषक तथा कम्पनी अनि नियामकका रचनात्मक सुझाव हाम्रा प्रेरणाका रुपमा सदैव ग्रहण गर्दै अघि बढ्ने प्रण गर्दछौं ।

धन्यवाद ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*