बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न, सामूहिक रुपमा बीमा जागरण अभियान चलाऔंः अध्यक्ष सिलवाल

३१ बैशाख २०८०, आईतवार ०९:३३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ ।

भोलि जेठ १ गते ५५ औं बार्षिकोत्सव भव्य रुपमा मनाउन लागेको बीमा प्राधिकरणले बार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरिको आयोजना गरेको हो । प्रभातफेरिमा सबै जीवन बीमा कम्पनीहरु, सबै निर्जीवन बीमा कम्पनीहरुको उपस्थिति रहेको थियो । नेपाल बीमा प्राधिकरणका सबै कर्मचारीहरु, नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको प्रभातफेरि कार्यक्रम भद्रकालीबाट सुन्धारा, न्यूरोड, भोटाहिटी–रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर समापन भएको हो ।

समापन समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा जागरण बीमा कम्पनीहरु र सरकार दुवैको सामूहिक अभियान भएको बताउँदै देशव्यापी रुपमा बीमा अभियान सञ्चालन गरी गरिब, न्यून आय भएका जनतालाई बीमाको दायरामा ल्याएर जोखिम न्यूनिकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बीमाको सचेतना र बीमा जागरणमार्फत जनताको घरमा बीमा पहुँच पुर्याउन आफूहरु क्रियाशिल रहेको बताए । त्यस्तै, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा कम्पनीहरु दावी भुक्तानी दिन प्रतिबद्ध रहेको बताउँदै लाखौं दावी भुक्तानीमा एकाध समस्या आएको विषयलाई भन्दा बीमा कम्पनीहरुले पुर्याएको योगदानमा ध्यान दिन आह्वान गरे । अध्यक्ष क्षेत्रीले कम्तीमा एक घर एक बीमा पोलिसी पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने बताए । बीमा सर्भेयर एशोसिएनका अध्यक्ष मोहन पुरुष ढकालले बीमाको दायरा बृद्धि गर्न सबैले सामूहिक रुपमा कार्य गर्नुपर्ने बताए ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*