सुशासन र भ्रष्टाचाररहित समाज निर्माणमा बीमापोष्टको भूमिका देखियोस्ः केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेकपा एमाले

३१ बैशाख २०८०, आईतवार १०:१०

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक न्याय, सुशासन, भ्रष्टाचाररहित समाज निर्माणलाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गर्न बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनु भएको छ । पूर्व प्रधानमन्त्री ओलीले बीमापोष्टलाई पठाउनु भएको शुभकामना सन्देशमा बीमापोष्टले सामाजिक न्याय, सुशासन र भ्रष्टाचाररहित समाज निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री ओलीको शुभकामना सन्देशः

देशको वित्तीय क्षेत्रको विषयमा ताजा सूचना तथा गहन विश्लेषणात्मक समाचारमार्फत सुसूचित गर्दै आएको बीमापोष्ट डटकम तेस्रो वर्ष प्रवेश गर्न लागेकोमा खुशी लागेको छ । यस अवसरमा बीमापोष्ट डटकम परिवारलाई हार्दिक बधाई भन्न चाहन्छु ।

नेकपा (एमाले)को अभिभारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु हो । राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न पूर्वाधार विकास, मानव संसाधनको विकास र औद्योगिक तथा आर्थिक विकास अनिवार्य छ । विकासका यी सबै क्षेत्रमा फड्को मार्न राजनीतिक स्थिरता र सुशासन आवश्यक छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासनको सामाजिक जागरणका लागि सञ्चार माध्यमको निष्पक्ष भूमिका महत्वपूर्ण हुन्छ । देशको वित्तीय नीतिबारे सही सूचना र विश्लेषण प्रवाहमार्फत राज्यका स्रोत र साधनहरुमा जनताको समान पहुँच स्थापित गर्न सञ्चार माध्यमको अहम् भूमिका रहेको हुन्छ । बीमापोष्ट डटकमले सामाजिक न्याय, सुशासन, भ्रष्टाचाररहित समाज निर्माणलाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गर्ने छ भन्ने मेरो विश्वास छ ।

बीमाको माध्यमबाट नागरिकको जीवन र निर्जीवन क्षेत्रका जोखिम रक्षावरण गर्न सकिन्छ । बीमाको पहुँच जनतामा विस्तार गरेर नागरिकलाई त्यसको लाभ दिने पद्दति विकास गर्नु पर्दछ र हामीले सरकारमा हुँदा त्यस पक्षलाई महत्व दिएका थियौं । बीमाले नागरिकका जोखिमहरुको रक्षावरण गर्दछ भने त्यसले बचतमार्फत पुँजी निर्माण गरेर देश विकासमा समेत भूमिका खेल्न सक्दछ । तसर्थ बीमाको समग्र विकास र आम नागरिकमा यसको समान पहुँच पुयाउनु आवश्यक छ ।

अन्त्यमा, बीमापोष्टको तेस्रो बार्षिकोत्सवको अवसरमा बधाई सहित यसको उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२८ बैशाख २०८०

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*