निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २६ प्रतिशतले बढ्यो, साविक सिद्धार्थ र सानिमा जिआइसीको प्रगति हुँदा तीन कम्पनीको मुनाफा घट्यो

३१ बैशाख २०८०, आईतवार १५:५३

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ४३ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा गत आवको तुनलामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २६.६८ प्रतिशतले बढ्न पुगेको हो ।

यस अवधिसम्म अधिकांश कम्पनीहरुको मुनाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४५० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०७८।७९ मा बीमा कम्पनीहरुलाई मर्जरका लागि फोर्स नीति ल्याएसँगै कम्पनीहरु मर्जरमा सामेल भएपछि नाफामा सुधार देखिएको हो ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये तेस्रो त्रैमाससम्म आइपुग्दा नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र साविक प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफा घटेको छ भने बाँकी सबै कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

चैत मसान्तसम्म सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले सो अवधिसम्म ६८ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । साथै मर्जरमा सामेल भएपछि सगरमाथा लुम्बिनी इन्योरेन्स पनि अब्बल बन्दै दोस्रो बढी नाफा कमाउने कम्पनी बनेको छ । सलिकोले यस अवधिसम्म ४१ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, साविक सिद्धार्थ इन्स्योरेन्सले पनि सो अवधिसम्म ३९ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने आरियन्टल इन्स्योरेन्सले ३९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नाफा बृद्धिदरमा को अघि ?
गत वर्षको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी मुनाफा बढाउनेमा साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड रहेको छ । सिद्धार्थ इन्स्योरेन्सले गत आवको यसै अवधिसम्मको तुलनामा यस अवधिमा १२६.३८ प्रतिशतले मुनाफा बढाएको छ ।

त्यस्तै, मर्जरमा सामेल भएका सानिमा जिआइसी इन्स्योरेन्सले पनि चैत मसान्तसम्म आइपुग्दा गत वर्षको तुलनामा १०३.०५ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले शतप्रतिशत, नेपाल इन्स्योरेन्सले ५९.६६ प्रतिशत, युनाइटेले ४७.११ प्रतिशत, ओरियन्टलले २०.१५ प्रतिशतले नाफा बृद्धि गरेको छ ।
साथै अजोड, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट, एनएलजी, साविक आइएमई जनरल, प्रभु र साविक प्रिमियर इन्स्योरेन्सले भने २० प्रतिशतभन्दा मुनि नाफा बढाएका छन् ।

त्यस्तै, गत वर्षको तुलनामा यस अवधिसम्म नेकोको शुन्य दशमलव २३ प्रतिशत, शिखरको ६.५२ प्रतिशत र साविक प्रुडेन्सियल इन्स्योरेन्सको भने ११.६५ प्रतिशतले नाफा घटेको छ ।

 

स्रोत : निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*