अर्थमन्त्री डा. महतले औल्याएमा बीमामा त्रुटी नै त्रुटी, ‘नियामकबाटै सरकारी बीमा कम्पनी ध्वस्त पारेर अर्कोलाई फाइदा दिनु गलत’

२ जेष्ठ २०८०, मंगलवार ०७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणमाथि अनेक कोणबाट प्रश्न प्रश्न तेस्र्याएका छन् । नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सवमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपाल बीमा प्राधिकरणमा व्यावसायिकताको खाँचो मात्रै औल्याएर नियामक आफै सरकारी कम्पनी ध्वस्त गर्ने कार्यमा संलग्न भएको गम्भिर आरोप समेत लगाए । मन्त्री महतले नियामक आफै अनैतिक भएको र एउटा कम्पनीलाई उकास्न अर्कोलाई, अर्को कम्पनीलाई फाइदाको लागि अर्को कम्नीलाई ध्वस्त पार्ने कार्यमा संलग्न भएको गम्भिर आरोप समेत लगाए ।

अर्थमन्त्री डा. महतले नियामकमा बिचलन आएको आशंकामा छानविनमा पर्न सक्ने चेतावनी समेत दिएका छन् । साथै मन्त्री डा. महतले यसअघिका अर्थमन्त्री जनार्दन शर्माले गरेको भ्रष्टाचार अनियमतामाथि समेत मन्त्री डा. महतले घुमाउरो पाराले प्रहार गरे ।

मन्त्री डा. महतले स्वास्थ्य बीमाको पहुँच व्यापक रुपमा विकास हुँदै गएको र त्यसले सरकारलाई भार थपिएको बताउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै भार थप्न नसक्ने अवस्थामा सरकारले रहेको बताउँदै यसको दीर्घकालिन समाधान खोज्ने बताए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको भाषणको सम्पादित अंशः

व्यवसायिक जसले बीमा कम्पनी भनेर दर्ता गर्छन, जसले बीमालाई अगाडि बढाउँछ, त्यो नै भोलि त्यसको हैसियत के हुन्छ भन्ने कुराको बारेमा यथेष्ठ विश्वसनीयता भएन भने बीमामा को आकर्षित हुन्छ ? त्यो बीमा कम्पनी अचानक गायब भयो भने के हुन्छ ? यो महत्वपूर्ण प्रश्न हो । जे हुनु भइसक्यो ।

अब यसलाई प्रतिस्पर्धी एउटा साइजमा ल्याउनु पर्दछ । हाम्रो जस्तो अर्थतन्त्र भएको देशमा कति वटा बीमा कम्पनी आवश्यक पर्ने हो ? कति बीमा कम्पनीहरु दीगो रुपमा बाँच्न सक्छन र ग्राहकहरुको क्षमतालाई धान्न सक्छ । यद्यपि यही कुरालाई ध्यानमा राखेर मर्जरमा जाँदैछ । सुरुमा यत्रो धेरै बीमा कम्पनीहरुलाई अनुमति दिनु नै ठीक थिएन । अब त्यसको कोर्स करेक्सन हुनु जरुरी छ । ति कम्पनीहरुलाई स्वास्थ्य, प्रतिस्पर्धी र ग्राहकको सुरक्षा र ग्राहकमैत्री कम्पनीको रुपमा विकास गर्न जरुरी छ । त्यसको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण दायित्व र भूमिका अपेक्षा गरिएको छ । यसको लागि व्यावसायिक दक्षता अभिबृद्धि अर्को महत्वपूर्ण पाटो हो । आधुनिकीकरण गर्न जरुरी छ । परम्परागत तरिकाबाट होइन । नियामक आफैले सरकारी कम्पनीलाई डिस्ट्रोय गरेर अर्कोलाई फाइदा दिने, अर्कोलाई फाइदा दिन अर्कोलाई दिने यो नियामकको काम होइन । त्यसलाई साँच्चिकै विधिको शासनभित्र बसेर सञ्चालन गर्ने नियामकको जिम्मेवारी हुन्छ । मलाई आशा छ, विश्वास छ, आउने दिनमा नेपाल बीमा प्राधिकरणले त्यो भूमिकालाई बखुबी निर्वाह गर्नेछ ।

म मन्त्रीको हैसियतमा काम गरेको सात हप्ता लाग्दैछ । बजेटको अन्त्यै नजिकमा अर्थमन्त्रालयको जिम्मेवारीमा आएँ । र, जति पनि अर्थमन्त्रालय मातहतमा जोडिएका संस्थाहरु छन् । बैंकहरु छन, बीमा छन्, कोषहरु छन्, अरु नियामक निकायहरु छन्, यी सबैलाई नजिकबाट र गहिरिएर हेर्न पाएको छैन । बजेट सकिएपछि मैले यी फरक फरक संस्थाहरुमा त्यसको प्रभावकारिता के छ ? कहाँ व्यावसाकियताको अभाव छ ? त्यो सबै खोजी गर्नेछु । म राजनीति चाखो छ भनेर भन्दिन, राजनीतिक तहबाट बेला बखतमा हुने हस्तक्षेपले पनि व्यावसायिकतामा ह्रास आएको छ । त्यसो गर्न दिइने छैन । अबका दिनमा सबै निकायमा व्यावसायिक ढंगबाट काम गर्नुपर्दछ । खासगरी, अर्थमन्त्रालय र जोडिएका संरचनाहरु त्यो हिसाबले चलेन भनेदेखि राज्य संयन्त्रहरु यही हिसाबले अघि बढाउन कठिन हुन्छ । अर्थमन्त्रालय मातहतमा पारदर्शी, व्यावसायिकता, उत्तरदायी र जवाफदेहीलाई प्राथमिकतामा राख्नु पर्दछ । नेपाल बीमा प्राधिकरणलाई यही नीति पालना गर्न आग्रह गर्दछु ।

जति पनि बीमा कम्पनीहरु देशैभरि सक्रिय भइरहनु भएको छ, यहाँहरुको पनि जिम्मेवारी छ । बीमा भन्ने वित्तिकै सुरक्षा भन्ने कुरा आउँछ । त्यसैको लागि त नागरिकले बीमा गर्छन नि । सबै बीमा कम्पनीरुले त्यही जिम्मेवारीलाई पालना गर्नुहुनेछ । एउटा मात्रै कम्पनीलाई कुनै पनि कुरामा सुरक्षा दिन समस्या देखिएको छ भने त्यसलाई नियामकसँग बसेर समाधान गर्नुपर्दछ ।

बीमाको लक्ष्य लागत घटाउने र कभरेज विस्तार गर्नुपर्दछ । जति दायरा फराकिलो पार्न सकिन्छ, त्यति नै लागत घट्ने हुँदा त्यसतर्फ ध्यान दिनुहोला । मितव्ययितालाई ध्यानमा राखेर काम गरौं । के के सेवा हामी दिँदैछौं, पारदर्शी हिसाबले दिऔं । लिँदा चाही हामी धेरै कुरा बाचा गर्ने, सम्पूर्ण कुरा भइहाल्छ भनेर मार्केटिङ गर्ने जब बीमितलाई सेवा आवश्यक पर्छ, त्यस बेलामा अनेकौं बाहना गरेर दुःख दिने जिम्मेवारीबाट पञ्छिने गर्नु हुँदैन । त्यस्तो बेलामा नियामक बीमा प्राधिकरण रेखदेख गरेर सही मार्गमा ल्याउनु पर्दछ । सरकारले बीमालाई उच्च प्राथमिकता दिएको छ ।

 

पूरा भिडियो हेर्न यहाँ क्लीक गर्नुहोला ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*